भेरी अस्पतालमा नियमित औषधि सेवन गरेका एचआइभी सङ्क्रमितबाट स्वस्थ सन्तानको जन्म !

    • प्रियास्मृति ढकाल

  • २२ चैत्र २०७९, बुधबार

नेपालगन्जः बाँकेकी रिता केसी (नाम परिवर्तन) एचआइभी संक्रमित हुनुहुन्छ । उहाँका चार छोरी छन् । तीमध्ये तीन जनामा एचआइभी संक्रमण छ । तर कान्छी छोरी भने संक्रमणमुक्त छिन् । चिकित्सकको निगरानीमा गर्वावस्थाबाटै नियमित औषधि खाएपछि उहाँकी छोरी स्वस्थ जन्मिएकी हुन् । उहाँमात्र होइन संक्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिकापनि संक्रमणमुक्त रहेको पाइएको छ ।

एचआइभी सङ्क्रमित बाबुआमाले स्वस्थ शिशु जन्माउन सक्छन् भन्ने सबैलाई थाहा नहुन सक्छ । नेपालगन्जस्थित भेरी अस्पतालको एआरटी सेन्टरमा नियमित औषधी सेवन गर्दै आएका सङ्क्रमित बाबुआमाले जन्माएका शिशुहरू एचआइभी सङ्क्रमणमुक्त छन् । अस्पतालका अनुसार पछिल्लो डेढ वर्षयता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका ५ जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त छन् ।

भेरी अस्पतालमा २०६२ साल फागुनमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र अर्थात एआरटी सेवा सुरु भएको हो । यो एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५ सय ६० जना संक्रमित उपचारका लागि नियमित आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा।संकेत रिसालले जानकारी दिनुभयो ।

उनीहरुमध्ये पाँच जना आमाबाट जन्मिएका १८ महिना मुनिका शिशुहरु एचआइभी संक्रमणमुक्त भएपछि संक्रमित आमाबुवामा खुसीले सीमा छैन । शिशुहरुमात्र होइन संक्रमण भएका आमाबुवा पनि सामान्वय जीवन विताइरहेका छन् । तीन छोराछोरीकी आमा सिता खड्का (नाम परिवर्तन) पनि नियमित औषधि सेवन गरियो भने आमाबुवा संक्रमित भएपनि स्वस्थ वच्चा जन्मिने रहिछ भन्ने उदाहरण आफै रहेको सुनाउनुभयो ।

‘एचआइभी संक्रमित भएपछि मान्छे मरिहाल्छ भन्ने सुनेकी थिए उहाँले भन्नुभयो,–‘तर त्यसो रहिन्छ चिकित्सकको सुझावमा औषधि नियमित सेवन गर्ने र जीवनशैलीलाई बदल्ने हो भने अरु मानिस जस्तै सहज जीवनयापन गर्न सकिने रहिछ ।’ चिकित्सकहरुको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका संक्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिने गरेको छ ।

अस्पतालका फोकल पर्सन डा।रिसालले एआरटी सेवा लिनेक्रम बढेपछि एचआइभी संक्रमणबाट मृत्यु हुने दर पनि घटेको बताउनुभयो । संक्रमितलाई बाँचुन्जेल दिनको एक पटक टिडिएफ ३ डिसीइएफभी नामक औषधि खुवाउने गरिन्छ । यस्ता आमाबाट जन्मिएका शिशुहरुलाई पनि जन्मिएको ७२ घण्टाभित्रै प्र्रोफायल एक्सिस नामक औषधि खुवाउने गरिन्छ ।

नियमित औषधि खुवाएर १८ महिनापछि बच्चाको एचआइभी अवस्था जाँच गर्ने गरिन्छ । भेरीमा सबैको नतिजा राम्रो रहेको भेरी अस्पतालका एचटिसी काउन्सिलर होमनाथ सुवेदीले बताउनुभयो । चिकित्सकहरुले सन्तानको चाहना राख्ने संक्रमितलाई पिएमटीसिटी सेवा लिन सुझाव दिने गरेका छन् ।

भेरी अस्पतालमा देखिएको नतिजाले संक्रमित आमाबुवामा आफ्नो सन्तान स्वस्थ हुँदा खुसी हुने मौका त पाएका छन् नै सकारात्मक परिणामले चिकित्सकहरुमा पनि मनोवल बढाएको छ ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech