नेपालगन्जः सामान्यतया डेंगुको सङ्क्रमण दर जेठ महिनाबाट बढ्ने गर्छ । तर माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भएको रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले बताउनुभयो । साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ ।
गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । शाखा प्रमुख दाहालका अनुसार डेंगुका केश बढ्न सक्ने सम्भावना कायमै रहेकाले प्रदेशका स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताललगायत सबै स्वास्थ्य संस्थालाई डेंगु फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिइसकिएको छ ।
देशको जहाँ डेंगुको केश देखिएको छ, त्यहाँ ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । डेंगु सङ्क्रमण हुँदा शरीरमा विभिन्न किसिम लक्षण देखापर्ने गर्छ । जस्तै अधिक ज्वरो आउने, टाउको, आँखा, मांसपेशी र जोर्नीलगायत पुरै शरीर दुख्ने, छालामा रातो दाग आउने, बान्ता हुने लगायतका लक्षणहरू लगातार ४ देखि ६ दिनसम्म देखिन सक्छ । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जानुपर्छ ।
डेंगुबाट जोगिन यसो गरौँ
–पुरा बाहुला भएको लुगा लगाउने ।
–झुलभित्र मात्र सुत्ने ।
–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।
–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।
–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।
–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।