सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।
यो वर्ष अनलाइनमार्फत सेवा दिइने र सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिनुभयो ।
कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिरामी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् ।
विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।
सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निःशुल्क रहने बोर्डले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि वैदेशिक रोजगार बोर्डले आजदेखि परामर्श सेवा दिन लागेको हो ।