पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान चलाइँदै

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७९, बुधबार

नेपालगन्ज: नेपालगञ्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान चलाइँदैछ । पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा-वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको हो ।

वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताएउनुभयो । नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको बस्नेतले बताउनुभयो । पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको छ । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।

नेपालगञ्जलाई गत वर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ। पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो । जनस्वास्थ्य निरीक्षक गोरखनाथ योगीले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बन्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालेको बताउनुभयो।

यसैक्रममा आज नेपालगञ्जको वडा नम्बर ९ मा कार्याशाला गोष्ठी गरिएको जनस्वास्थ्य निरीक्षक योगीले बताउनुभयो। स्वास्थ्य चौकीमा गरिएको कार्यशालामा वडा अध्यक्ष गोविन्द रेग्मी, वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायत उपस्थित थिए । यसअघि वडा नम्बर २, ३, ५, ६, ७, ८, १०, ११, १३, १४, १५, १६, १७, १९, २१, २२ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech