अरुणा सिंहले दिनुभयो चम्ल्याहा सन्तानलाई जन्म, बिशेष निगरानीमा उपचार चल्दै

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७९, बुधबार

नेपालगन्जः नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिनुभएको छ । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आउनु भएको थियो ।

चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराउनु भएको हो ।

त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पत्तिले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया जानुभएको थियो ।

अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिनुभएको अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका श्रीमान योगेशले बताउनुभयो। निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले बिशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ। योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरुको तौल कम हुँदा अस्पतालले बिशेष निगरानी र हेरचाह गर्नुपरेको हो।

एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech