नेपालगन्जः पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति गिरीजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले फत्तेवाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
पार्टी सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा एक सय ५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।
फलफूल वितरण अघि कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी सभापति गौडेलले मुलुकको शान्ति स्थापनामा गिरीजाबाबुले पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो । सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई द्धन्द्धबाट जोगाउन कोइरालाले गरेको योगदान विश्व मानचित्रमा सधैंवमा उदाहरणीय हुने बताउनुभयो ।
कोइरालाले मजदुर आन्दोलनबाट थालेको राजनीतिक यात्रा पार्टी सभापतिसँगै मुलुकको कार्यकारी प्रमुखसम्म पुग्नु आफैमा एउटा प्रेरणाको स्रोत भएको बताउनुभयो । यस्तै नेपाली काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्र बहादुर हमालले कोइरालाकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेसबीचको एकता अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले काँग्रेसबीचको एकता कायम गर्न सक्नु नै कोइरालाप्रतिको सच्चा सम्झना हुने पनि उल्लेख गर्नुभयो । संबिधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीले गिरीजाबाबुको योगदानकै कारण राजतन्त्र अन्त्य र मुुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले मेलमिलाप, एकता र शान्ति चाहने गिरीजाप्रसाद कोइरालाजस्तो विचार प्रत्येक काँग्रेसी कार्यकर्ताले मनमनमा हुनु पर्ने बताउनुभयो ।
यस्तै नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले कोइरालाको स्मृति दिवसमा बाँके काँग्रेसले बिरामीलाई फलपूmल वितरण गरेर स्मरण गरेको प्रति खुसी व्यक्त गर्नुभयो । पार्टी सचिव सुधांशु कोइरालाले संचालन गर्नुभएको सो कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काँग्रेस बाँकेका निवर्तमान पार्टी सभापति किरण कोइराला, काँग्रेस नेता हुर्मत न्यौपाने, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाह, पार्टीका सहसचिव रेणुसिंह ठाकुर, फत्तेवाल आँखा अस्पतालका प्रवन्ध निर्देशक डा. कौशल वर्मा लगायतको उपस्थिति रहेको थियो ।