नेपालगन्जः स्वास्थ्यसहित मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेलाई सम्मान गरेको छ । बाँकेको डुडुवामा भएको शाखाको ४१ औं जिल्ला सभामा डा. पाण्डेलाई सम्मानित गरिएको हो । क्तसंचार सेवाको प्रर्बधन एवम् प्राविधिक विषयमा उल्लेख्य योगदान पु¥याएको भन्दै डा.पाण्डेलाई सम्मानित गरिएको रेडक्रसले जनाएको छ । त्यसैगरी ४१औं जिल्ला सभाको अधिवेशनमा १७ वटा उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ । यसैगरी रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पु¥याउने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्दलाई पनि सम्मान गरिएको छ ।
सभापतिमा फेरि सम्झना निर्वाचित
उक्त अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन समेत भएको छ । उक्त अधिवेशनबाट सभापतिमा पुनः गोवर्धन सिंह सम्झना निर्वाचित हुनु भएको छ ।उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्ष दुखीराम लोनिया, र सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्रेल, खागेश्वरी रावत र सरिता देवी ज्ञवाली निर्वाचित हुनु भएको छ । निर्वाचन अधिकारी नवराज ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।
सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनु भयो । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिदै अभियान थप प्रभावकारी बनाउन अनुरोध गर्नु भयो । नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नु भयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले ५६ वर्ष देखि समुदायसंग नजिकबाट सहकार्य गर्दै सबै तहका सरकारसंग प्रत्येक्ष समन्वय गर्दै आएको जानकारी गराउनु भयो ।
रेडक्रस बाँके तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले वर्षभरीमा २ लाख २९ हजार ८ सय ६५ व्यक्तिहरु प्रत्येक्ष लाभावन्ति भएको तथ्यांकगत विवरण सभा समक्ष पेश गर्नु भयो । रेडक्रस बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.बा. २०७८-२०७९ बार्षिक रु २ करोड ४२ लाख ३४ हजार ४५२ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन र आगामी आ.ब. २०८०-२०८१ को रु ३ करोड ५२ लाख २२ हजार ३७४ को प्रस्तावित बजेट प्रस्तुत गर्नु भयो थियो ।
रेडक्रस बेतहनी उपशाखाका सभापति सोहनलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना, काँगेस बाँकेका सभापति नारायणप्रसाद गौगेडल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।