नेपालगन्ज: खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते हुनु भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उहाँकी आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
२५ प्रतिशत शरीरको भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सुझाएका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते हुनुभएको थियो। उहाँहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।
उहाँहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अस्पतालकी मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उहाँका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उहाँको अवस्था पनि गम्भीर रहेको तुलाधर बताउनुभयो । आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको जानकारी दिंदै उहाँले भारतमा लगेर उपचार गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।