नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा.एम.किदवाईलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदक

जसले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदा उपचार र व्यवस्थापनको कमाण्ड सम्हाल्नुभएको थियो ।


    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०७९, बुधबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा.मोहीउद्दीन (एम) किदवाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट डा. किदवाईलाई विभूषित गरेको हो ।

लुम्बिनी प्रदेश राजधानी भालुवाङमा आज एक समारोहकाबीच लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले कोरोना महामारीमा उपचार र व्यवस्थापनमा महत्वपर्ण योगदान पुर्याएको भन्दै डा.किदवाईलाई विभूषित गर्नुभएको अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिनुभयो ।

बिगत फर्केर हेर्दा…
२०५१ साल साउन २९ गते । देशका विभिन्न स्थानमा बाढी र डुवानले वितन्डा मच्चाएको थियो । बाँके पनि त्योबाट अछुतो थिएन । राप्ती नदीमा उर्लिएको बाढीले धेरैको उठिबास लगाइसकेको थियो । कैयौं विस्थापित भएर उचो ठाउँमा आश्रय लिइरहेका थिए । धान खेतमा राप्ती वगिरहेको थियो । बाढीले मच्चाएको वितन्डा र क्षतीबारे निरीक्षण गर्न तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी, तत्कालिन गृहमन्त्री केपी शर्मा ओली, उपसचिव रामविलास यादव, पूर्व गृहमन्त्री बामदेव गौतम देशदौडाहमा निस्कनु भएको थियो । दैवको लिला प्रधानमन्त्री अधिकारी चढेको हेलिकप्टर बाँकेको राप्ती नदीको किनारमा दुर्घटनामा प¥यो । देशको कार्यकारी प्रमुख चढेको हेलिकप्टर दुर्घटनाको खवर एकाएक फैलियो । तत्कालिन सिडिओले डा.मोहीउद्दीन किदवाई अर्थात एम.किदवाईलाई खवर गरे । एम.किदवाई त्यतिबेला भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो । तत्काल डा.किदवाईको नेतृत्वमा चिकित्सकसहितको टोली हेलिकप्टर दुर्घटनाग्रस्त स्थल राप्ती नदीतर्फ हान्नियो । ‘देशको कार्यकारी प्रमुख सवार हेलिकप्टर दुर्घटना भएको खवर सुन्ने वित्तिकै हाम्रो टीम मुभ भयो, डा. किदवाईले भन्नुभयो–‘प्रधानमन्त्री अधिकारीलाई बढी चोट थियो । अरुलाई अलि कम थियो ।’ भेरी अस्पतालको टीमले दुर्घटनाका घाइतेहरुलाई प्राथमिक उपचार घटनास्थलमै गर्न सुरु ग¥यो । थप उपचार भेरी अस्पतालमै गर्ने कि काठमाडौं पठाउने किदवाई अल्मलमा पर्नुभयो । किनभने देशको कार्यकारी प्रमुखसहितको टीम दुर्घटनामा परेको थियो । नसोधेर भेरीमा ल्याउने वा काठमाडौं पठाउने कुरा भएन । डा. किदवाईले प्रधानमन्त्री अधिकारीलाई सोध्नुभयो–‘भेरी अस्पतालमा उपचार गरौं कि काठमाडौं जाने ?’ प्रधानमन्त्री अधिकारीले भेरी अस्पतालमै सजिलो होला उतै लैजाउ भनेर जवाफ फर्काउनुभयो । दुर्घटनामा परेका सबैलाई भेरी अस्पतालमा ल्याइयो । डा. किदवाई सम्झनुहुन्छ–‘दुर्घटनामा पर्नु भएका पाँचै जनालाई रातभरी आइसीयूमा राखेर उपचार गरियो ।’ घाइते प्रधानमन्त्री अधिकारीलाई भोलिपल्ट त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको थियो । अधिकारीको कुमको जोर्नी टुटेको थियो । देशको प्रधानमन्त्रीलाई उपचार गर्नु पर्दा डा.किदवाईलाई स्वभाविक दवाव थियो । प्रधानमन्त्री अधिकारीसहित अन्य सबैको उपचारका लागि एकएक जना चिकित्सक रातभरी खटाइएको थियो । सायद त्यही वर्ष भेरी अस्पतालमा आइसीयू वेड स्थापना गरिएको थियो । एम किदवाईसँग चुन्नु अन्सारीको राम्रो सम्बन्ध थियो । चुन्नु नेपालगन्जकै स्थानीय । उहाँका अरु परिवार कोही थिएनन् । उहाँकै सहयोगमा आइसीयू बेड स्थापना गरिएको थियो । ५ बेडको आइसीयू स्थापना गरिएकै कारण तत्कालिन प्रधानमन्त्री अधिकारीलाई आइसीयूमा राखेर उपचार सम्भव भएको थियो । अधिकारी पछि पनि भेरी अस्पतालमा आएको डा. किदवाईले स्मरण गर्नुभयो । ‘सायद पार्टीको कामको शिलशिलामा अधिकारी नेपालगन्जमा आउनुभएको रहेछ डा.किदवाईले भन्नुभयो–‘भेरी अस्पतालमा आएर सबैलाई धन्यवाद दिनुभयो ।’ अधिकारी निडर र आत्मविश्वासी नेताकोरुपमा आफुले पाएको डा.किदवाईले सुनाउनुभयो । साढे पाँच हजार फिटको उँचाइबाट हेलिकप्टर दुर्घटनामा परी मृत्युको मुखमा पुग्दा पनि उहाँ डराउनुभएन । बैशाखी टेकेर कैयौं पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको थियो । बैसाखीतर्फ सङ्केत गर्दै जनतासमक्ष गएर रोचक ढङ्गले भन्नुभएको थियो रे– ‘पहिला म दुई खुट्टा टेकेर तपाईंहरूसमक्ष आउने गरेको थिए, अहिले तीनओटा खुट्टा टेकेर आएको छु, झन् बलियो भएर आएको छु ।’ यसले पनि उहाँ कति आत्मविश्वासी र साहसिक नेता हुनुहुन्थ्यो भन्ने पुष्टि गर्छ ।

जागिरे जीवन भेरीमै बित्यो
आफ्नो अधिकांश जागिरे जीवन डा.किदवाईको भेरी अस्पतालमै वित्यो । जागिरे जीवनको दोस्रो पोष्टिङ भेरी अस्पताल नेपालगन्जमा भयो वि.स २०३४ सालमा । त्यो भन्दा अगाडि उहाँ २०३० सालमा सल्यान हेल्थ सेन्टरमा हुनुहुन्थ्यो । त्यहाँ उहाँको पहिलो पोष्टिङ थियो । तत्कालिन मध्य र सुदूरपश्चिमको रेफरल अस्पताल नै भेरी थियो । ‘भेरी अस्पताल त्यतिबेलै सुविधा सम्पन्न थियो उहाँ भन्नुहुन्छ–‘दक्ष चिकित्सकहरु थिए, उपचार पनि राम्रो थियो ।’ नाम चलेकै चिकित्सकबाट सेवा प्राप्त भएकाले भेरीप्रति विरामीको विश्वास थियो । फिजिसियनमा सन्तोषमान श्रेष्ठ, प्याथोलोजिमा शोभा श्रेष्ठ, गाइनेमा महोददी प्रधान, सर्जनमा इश्वरीमान श्रेष्ठले सेवा दिँदै आउनुभएको थियो । २०३६ सालमा किदवाईको बर्दिया अस्पताल सरुवा भयो । ३८ सालमा फेरी भेरीमा आउनुभयो । ४२ सालमा फेरी उहाँको वीर अस्पताल काठमाडौंमा सरुवा भयो । ४६ सालमा वीरबाट महेन्द्र अस्पताल दाङमा मेसुको जिम्मेवारी सहित मन्त्रालयले सरुवा ग¥यो । तीन वर्ष उहाँले दाङमा व्यवस्थापकीय र चिकित्सकीय सेवा दिनुभयो । घुम्दै फिर्दै रुम्जाटार भने झैं २०५१ सालमा मेसुको जिम्मेवारीसहित किदवाईलाई पुनः भेरीमा सरुवा ग¥यो । त्यसपछि भने डा किदवाई सेवा निवृत्त नहुँदासम्म भेरीमै बसेर व्यवस्थापकीय र चिकित्सकीय भूमिका निर्वाह गर्नुभयो । डा. किदवाई भेरी अस्पतालमा (२०५१–१२–१४ देखि २०५५–०६–१६) सम्म मेसु भएर जिम्मेवारी निर्वाह गर्नुभयो । उहाँलाई राम्रोसँग थाहा थियो भेरी अस्पतालमा आउने अधिकांश विरामी गरिव र विपन्न समुदायका हुन् । उहाँले आफ्नो कार्यकालमा त्यस्ता विरामीलाई निःशूल्क उपचार र औषधिको व्यवस्था गरिदिनु भयो । ‘पैसा नभएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्ने सोचाइँ मेरो थियो उहाँले भन्नुभयो–‘त्यस्ता धेरै विरामीले लाभ लिए ।’ तीन पटकगरी करिव १८ वर्ष भेरी अस्पतालमा सेवा दिनुभएका डा. किदवाईकै नेतृत्वमा बर्न वार्ड सम्भव भएको हो । महिला पुरुषका लागि छुट्टाछुट्टै बर्न वार्ड तयार पारियो । समाजसेवी नम्रदा खनालले आफ्नो बुवा विशेश्वरनाथ खनालको नाममा बर्न वार्ड स्थापना गरिएको उहाँको भनाइ छ । यस्तै इमरजेन्सी भवनको प्रक्रिया पनि डा. किदवाई मेसु भएकै बेला अगाडि बढेको हो । ‘भेरी अस्पताल इतिहास दब्रिलो बनाउन हामीले धेरै प्रयास गरेका हौं उहाँले भन्नुभयो–‘त्यसैले त अहिले पनि भेरी अस्पताल पश्चिम नेपालका विरामीका लागि आशा र भरोसाको केन्द्रकोरुपमा रहि आएको छ ।’ विस २००३ सालमा जन्मनुभएका डा.किदवाई २०६३ साल भदौमा सरकारी जागिरे जीवनबाट अवकाश पाउनुभएको थियो । त्यसपछि भने उहाँ नेपालगन्ज मेडिकल कलेजमा आवद्ध भएर विरामीको सेवामा अहिले पनि अनवरत खटिरहनुभएको छ ।

 

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech