जसको समन्वय र सहकार्यबाट यसरी नियन्त्रण सम्भव भयो दादुरा महामारी

पौडेल भन्नुहुन्छ–‘दादुरा नियन्त्रणका लागि कुनैपनि स्वास्थ्यकर्मीले थप सेवासुविधा नलिएर अहरोत्र खटिनु भएको छ, यो जस्तो पेशागत सेवा र धर्म अरु के हुन सक्छ ?’


    • प्रियास्मृति ढकाल

  • २२ माघ २०७९, आईतवार

नेपालगन्जःगत २८ कार्तिकमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–५ मा पहिलो पटक चार वर्षीय बालकमा दादुरा देखियो । त्यसको दुई सातापछि १५ मंसिरमा दुई वर्षीय बालकमा रुवेला देखियो । एक दुई वटा केश भेटिनुलाई फाट्टफुट्ट केस नै मानिन्छ । ती दुवै जना विरामी अस्पतालमा उपचार गराए । र, घर फर्किए ।

ती दुवै बालक उपचारका लागि वरिष्ठ बालरोग विशेषज्ञ डा.बिनोद खेतानको सम्पर्कमा गएका थिए । डा.खेतानले डब्चुएचओसँग सहकार्य गरेर ती दुई विरामी बालकको राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको स्याम्पल दादुरा–रुवेला पुष्टि भएपछि त्यस क्षेत्रमा थप बालबालिकामा रोग पहिचान गर्न सुरु गरियो । डब्लुएचओको टिमले स्थानीय स्वास्थ्यकर्मी र महिला स्वयमसेविकालाई परिचालन गरेर थप बालबालिका खोज्न थाले । तर, भेटिएनन ।

उक्त टिम बालबालिकाहरु खोज्नेक्रममा छिमेकी वडाहरुमा पनि पुग्न थाल्यो । पुस १२ गते  नेपालगन्ज उपमहानगरपालिका–७ को एउटा मुस्लिम परिवारका पाँच जना बालबालिकामा दादुरा देखियो ।  दादुराको लक्षण देखिए पनि दादुरा हो कि होइन भन्ने तत्काल पुष्टि भएन । पाँच जना बालबालिकाको रिपोर्ट राष्ट्रिय प्रयोगशालामा पठाइयो । काठमाडौंबाट रिपोर्ट आउन करिब हप्ता दिन लाग्यो ।

१८ पुषमा आएको रिपोर्टमा पाँच जना मध्ये चार जना बालबालिकामा दादुरा रोगको संक्रमण पुष्टि भयो । तर दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य कार्यलयले रिपोर्ट नआउँदैदेखि स्थानीय स्वास्थ्यकर्मीलाई हाइअलर्ट बनाइसकेको थियो । संक्रमित ती बालबालिकालाई भिटामिन A दिने काम सुरु भइसकेको थियो ।

‘जव दादुरा महामारीका रुपमा फैलिएको रिपोर्ट आयो त्यसपछि हाम्रो सिंगो ध्यान त्यसलाई कसरी नियन्त्रण गर्नेमै केन्द्रीत बन्यो स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेल भन्नुहुन्छ–‘स्थानीय सरकारसँग समन्वय गर्यौं । नेपालगन्जका बालरोग विशेषज्ञदेखि सिडियो कार्यालयसँग परामर्श गर्यौं । महामारीबारे माथिल्लो तहमा रिपोर्टिङ गरियो । गाइडलाइन अनुसार तत्काल भिटामिन दिन सुरु गरियो ।’

दादुरा आउटब्रेक भइसक्दा नेपालगन्जमा दादुरा फैलिनेक्रम तीब्र भइसकेको थियो । श्वासप्रश्वासको माध्यमबाट तीब्र गतिमा फैलिने दादुरा नियन्त्रणका लागि उपयुक्त उपाय भनेकै दादुरा–रुवेला विरुद्धको खोप अभियाननै थियो । बालरोग विशेषज्ञ, खोप समन्वय समिति, जनप्रतिनिधि, सिडियो कार्यालय लगायतसँग समन्वय र छलफलपछि तत्काल खोप झिकाउने निष्कर्ष निकालियो । गाइडलाइन अनुसार प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई २२ पुषदेखि खोप लगाउने अभियान सुरु भयो ।

अहिले बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिकाबाहेक अन्य सबै पालिकामा दादुरा–रुवेला खोप करिव अन्तिम चरणमा पुगेको छ । जानकी गाउँपालिकामा पनि दादुरा–रुवेला विरुद्धको खोप अभियान तत्काल सुरु गरिँदैछ । दादुराको सबैभन्दा बढी प्रभावित नेपालगन्जमा अहिले दादुराका विरामी भेटिन् छाडेका छन् । अन्य पालिकामा फाटफुट भेटिएपनि बालबालिकालाई खोप लगाइएकाले अव ती पालिकामा पनि दादुरा फैलिने जोखिम टर्दै गएको छ ।

अहिलेसम्म ३१३ जना बालबालिकामा दादुरा देखिएको छ । तीमध्ये तीन सय बालालिका निको भइसकेका छन् । अन्य बालबालिकाको स्वास्थ्य अवस्था पनि सामान्य छ । तीब्र गतिमा फैलिएको दादुरा करिव महिना दिनमा नियन्त्रणउन्मुख कसरी बन्यो ? स्वास्थ्य कार्यालय प्रमुख पौडेल भन्नुहुन्छ–‘स्वास्थ्यकर्मीको अहोरात्र खटाई, स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय, सहकार्य र साथ । अनि जनप्रतिनिधि र धर्मगुरुहरुको सहयोग ।’

मधेशी तथा मुस्लिम बाहुल क्षेत्रमा बालबालिकालाई खोप लगाउन अभिभावकहरु आनाकानी गर्छन् । तर नेपालगन्जमा धर्मगुरुहरुले खोप लगाउन स्थानीयलाई जनचेतना फैलाउन सहयोग पुर्याए । कतिपय जनप्रतिनिधि खोप लगाउन आग्रह गर्दै घरघरमा पुगे । जसका कारण खोपको कभरेज पनि ह्वात्तै बढ्यो । अर्को कुरा स्वास्थ्यकर्मी पनि विनास्वार्थ खटिए । यहाँसम्मकी स्वास्थ्यकर्मी सन्देश शाही दादुरा संक्रमित बालबालिकाको उपचार, व्यवस्थापन र खोप अभियानमा खटिएकै बेला आफै दादुरा संक्रमित हुनुभयो । महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका अहमनै रह्यो तर समन्वय र सहकार्यमा स्वास्थ्य कार्यालयले चनाखो भएर काम गर्यो ।

स्वास्थ्य कार्यालय प्रमुख पौडेलले महिला स्वयमसेविका देखि स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा उत्प्रेरित गरिरहनुभयो । पौडेल भन्नुहुन्छ–‘दादुरा नियन्त्रणका लागि कुनैपनि स्वास्थ्यकर्मीले थप सेवासुविधा नलिएर अहरोत्र खटिनु भएको छ, यो जस्तो पेशागत सेवा र धर्म अरु के हुन सक्छ ?’ सुरुमा स्रोतसाधन परिचालन र व्यवस्थापनमा चुनौति थियो । तर, स्थानीय सरकारले स्रोतसाधनमा सहयोगको प्रतिबद्धता जनायो ।

प्रदेश सरकार र संघीय सरकारले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । ‘स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, स्वास्थ्य सचिवदेखि प्रदेशका निर्देशकहरु समेत नेपालगन्ज आएर दादुरा रोगबारे स्थलगतरुपमै जानकारी लिने काम गर्नुभयो पौडेल भन्नुहुन्छ–‘यसले गर्दा पनि हामीलाई काम गर्न उत्प्रेरित गर्यो ।’ हुन त अहिले सबै जिम्मेवारी स्थानीय सरकारलाई छ । तर समन्वय र सहकार्यको पाटोमा पौडेल नेतृत्वको स्वास्थ्य कार्यालय अव्वल देखिएको छ । कुशल नेतृत्वले गर्ने भनेकै समन्वय, सहकार्य, टिम परिचालन र उचित समयमा उचित निर्णय हो ।

दादुरा महामारी नियन्त्रणमा पौडेलले त्यो कौशलता देखाउन सफल हुनुभएको छ । उहाँ भन्नुहुन्छ–‘यसमा मैले आफ्नो भूमिका र दायित्व निर्वाहमात्र गरेको हो । धन्यवादका सबैभन्दा बढी हकदार स्वास्थ्यकर्मीनै हुनुहुन्छ । डब्लुचएओ, युनिसेफ, बाँके युनेस्को क्लव, रेडक्रस लगायतको पनि ठूलो योगदान छ । डब्लुएचओकी डा. तृप्तीको टिमले यसमा धेरै मिहिनेत गरेको छ । भेरी अस्पताल, नेपालगन्जका बालरोग विशेषज्ञहरुको भूमिका पनि महत्वपूर्ण रह्यो ।’ बाँके पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष पुग्दैछ ।

६ चैत २०७७ मा बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकाले पूर्ण रुपमा लगाउनु पर्ने सबै खोप लगाएपछि खोपयुक्त जिल्ला घोषणा गरिन्छ । तर पूर्ण खोपयुक्त घोषणा गरिएको बाँकेमा दादुरा कसरी फैलियो त ? दादुरा फैलनुमा पूर्ण खोप घोषणासँगमात्र सम्बन्धित नभएको पौडेलको भनाइ छ ।

‘दादुरा फैलनुमा पूर्ण खोप घोषणासँगमात्र सम्बन्धित छैन, किनभने घोषणा गर्दा १६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हेरेर गरिन्छ उहाँले भन्नुभयो–‘यहाँ पाँच वर्ष माथिकालाई पनि दादुरा देखिएको छ ।’

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech