नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । उहाँले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभयो ।
मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभागलाई यस्तो निर्देशन दिनुभयो । उहाँले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गर्नुभयो । उहाँले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभयो ।
मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनुभन्दा अघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो ।