दादुरा महामारी के हो?
विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल अनुसार कुनै समुदायमा २८ दिन भित्र ५ वा ५ जना भन्दा बढी बिरामी देखा परेमा दादुरा महामारी (outbreak) भनिन्छ। त्यस्तै ५ वटा शंकास्पद बिरामीको शंकास्पद रगत सिरम जाँच गर्दा २ जना बिरामीको नमुना जाँचमा दादुरा पोजेटिभ आएमा त्यो समूदाय वा त्यो समूदाय आसपासको क्षेत्रमा दादुराका लक्षणहरु देखापरेमा स्वतः दादुराको बिरामीको रुपमा लिईन्छ।
दादुरा निवारण भन्नाले के बुझिन्छ?
कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा शून्य भएको अवस्थालाइ दादुरा निवारण भनिन्छ।
पूर्णखोप र दादुरा महामारीको अन्तरसम्बन्ध
पूर्णखोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थालाइ सम्झनुपर्दछ। हाल पूर्णखोप सुनिश्चितताको लागि १६ महिनादेखि २३ महिनासम्म उमेरका बालबालिकाहरुमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ। नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूर्णखोपको अवधारणा सुरु गरेकोे हो। नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार २१ प्रतिशत बालबालिकाहरुले पूर्णखोप प्राप्त नगरेको र १ प्रतिशत बालबालिकाहरुले कुनै पनि खोप सेवा प्राप्त नगरेका (खोप शून्य अवस्था) पाईएको र जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार २० प्रतिशत बालबालिकाहरुले पूर्णखोप प्राप्त नगरेको र ४ प्रतिशत बालबालिकाहरुले कुनै पनि खोप सेवा प्राप्त नगरेका (खोप शून्य अवस्था) पाईएको तथा सन् २०१६ को तुलनामा शुन्य खोपको अवस्था १ प्रतिशत बाट बढेर ४ प्रतिशतमा रहेको देखिएको छ।
नियमित खोप सेवाबाट विभिन्न प्रयास गर्दा गर्दै पनि पूर्णखोप प्राप्त गर्ने बच्चाको दर घट्दै गएको, विशेष गरि बसाईसराइ गर्ने, घुमन्ते फिरन्ते समूदाय, सुकुम्बासी वस्ती, गरिव , अशिक्षित आमाहरुका बच्चाहरुमा खोपको उपभोग दर कम रहेको देखिनुको साथै घनाबस्ती भएका शहरी क्षेत्र तथा तराईमा खोप उपभोग दरमा कमी देखिएको छ। पूर्ण खोप सुनिश्चिता कार्यक्रम २०६९ साल बाट सुरु भएको हो। बाँके जिल्लालाई २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। जिल्ला पूर्ण खोप घोषणा भएको २१ महिनापछि दादुराको महामारी देखिएपछि पूर्ण खोप घोषणासँग सम्वन्धित प्रश्नहरु उब्जनु स्वभाविक थिए। तर हामिले पूर्णखोप घोषणा भएको २ वर्ष पनि नभएको र सो घोषणा पश्चातको समयमा पूर्ण खोप भएर सुरक्षित हुने बालबालिका समूह ३ वर्ष ९ महिना वा ४ वर्ष मुनिका बालबालिकाहरु पर्ने र अब हामि ६ महिना देखि १५ वर्ष मूनिका सबै बालबालिकाहरुलाई थप एक मात्रा दादुरा रुबेलाको खोप दिने अभियान संचालन गर्ने कार्यले माघको १६ गते सम्म हामिले ५ स्थानिय तहका १,२०,०६६ जनालाई दादुरा रुबेला बिरुद्धको खोप दिई ति बालबालिकालाई यो महामारी खोप लगाउने अबसरका रुपमा लिई आगामी दिनका लागि दादुरा रुबेलाबाट सुरक्षित गर्नु पनि ठुलो उपलब्धीका रुपमा लिएका छौ।
बाँके जिल्लामा पालिका अनुसार दादुरा प्रकोपको माघ १४ गते सम्मको अवस्था
०७९ पुष १२ देखि माघको १६ गते ३६ दिनको अवधीमा बाँके जिल्लाका ८ स्थानीय तहमध्ये ६ स्थानीय तहका ३३ वटा वडाका ३०१ जना बालबालिकाहरु दादुराबाट संक्रमित भएका छन्। तिमध्ये २९२ जना निको भइसकेका छन भने १ जनाको मृत्यु भएको छ। ८ जना बालबालिकाहरु घरैमा आईसोलेसनमा राखि स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन। हालसम्म ८ जना बालबालिकाहरुलाई मात्र अस्पताल भर्ना गर्नुपरेको छ। पुस २० गते १ जना ३१ महिने बालकको मृत्यु भएको तथ्याङ्कले बाँकेमा रोगको सर्भिलेन्स र बिरामीको समयमै उपचार र ब्यवस्थापन प्रभावकारी भएका कारण दादुराबाट हुने शिकिस्तता दर, अस्पताल भर्ना दर र मृत्युदर कम भएको मान्न सकिन्छ। साथै पछिल्लो १ हप्तामा दैनिक संक्रमित बिरामी एकदमै न्यून हुँदै गएको र लक्षित पालिकाको बालबालिकाहरुमा खोपको कभरेज बढी भईसकेकोले बाँके जिल्ला दादुराको प्रकोप नियन्त्रणमा रहेको र खतरामुक्त भईसकेको आंकलन गर्न सकिन्छ . उमेर अनुसार दादुराका बिरामीको बितरण
जातजातिगत अनुसार दादुराका बिरामीको विवरण
स्थानीय तह अनुसार दादुराका बिरामीको विवरण
महामारीपछिको प्रतिकार्य अन्तर्गत दादुरा खोप अभियानमार्फत पौष २२ गतेदेखि माघ १६ गतेसम्म २४ दिनभित्र १,२०,००६६ जना बालबालिकाहरुलाई दादुरा-रुबेला विरुद्धको खोप प्रदान गिरएको छ। गति बालबालिकाहरुलाई दादुरा रुबेलाबाट बचाउने अवसर समेत यो महामारीले दिएकोले यसलाई बालबालिकाहरुलाई दादुरा रुबेलाबाट आगामी दिनमा बचाउने अवसर समेत भन्न सकिन्छ।
जिल्लामा महामारी पछिको प्रतिकार्य
१) महामारीको सुरुआतपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक
२) स्वास्थ्य कार्यालयको आयोजनामा विकास साझेदार निकायहरुसँग बैठक
३) स्वास्थ्य कार्यालय, विकास साझेदार निकायहरु तथा सरोकारवालाहरुसँग प्रभावित ६ वटै स्थानीय तहहरुमा तयारी बैठक।
४) स्थानीय जनप्रतिनिधिहरुको नेतृत्वमा स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु र विकास साझेदार निकायहरुका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु परिचालन।
५) दैनिक रुपमा बिरामीहरुको खोज अनुसन्धान, महामारीपछिको प्रतिकार्य खोप अभियानको अवस्था अपडेट
६) जिल्ला तथा स्थानिय तहमा सप्लाई भएको दादुरा–रुबेला खोप मौज्दाद अबस्था र सप्लाई व्यवस्थापन
७) खोपको गुणस्तरीयता सुनिश्चितताका लागी कोल्डचेन व्यवस्थापन, सूचना, संचार तथा समन्वय
दादुरा महामारीका सिकाइहरु
१) आधारभूत स्वास्थ्य सेवामा स्थानीय सरकारको अपनत्वको व्यवहारिक अनुभुति
२) विपदको अवस्थामा बिना आर्थिक व्यवस्थापनमा पनि स्वास्थ्यकर्मीलगाएत सबै परिचालित हुन सक्छन भन्ने प्रमाणित
३) तीन तहको सरकारको समन्वयमा विकास साझेदार निकायहरुसँगको सहकार्यमा छोटो समयको योजनामा समेत स्वास्थ्य सम्बन्धी जटिल क्रियाकलाप समेत सिमित साधन र स्रोतको परिचालनबाट सम्पन्न गर्न सकिन्छ भन्ने दरिलो उदाहरण।
४ सहि सूचना दैनिक उपलब्ध गराएमा गलत हल्ला तथा प्रपोगाण्डा व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाई
दादुरा महामारी व्यवस्थापनका सवल पक्षहरु
१) स्थानीय तहको अपनत्व र जनप्रतिनिधिहरुको सकृयताले महामारी लगाएत स्वास्थ्यका कार्यक्रम सफल सहज हुने, जनप्रतिनिधिहरुबाट प्रदान गरिएको सूचना अझै धेरै प्रभावकारी हुने।
स्थानीय तहको स्रोत साधनको सहि परिचालन भएमा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न सकिने।
२) सामाजिक परिचालनमा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु र विकास साझेदार निकायहरुको समन्वय र सहकार्य अत्यावश्यक
महामारी व्यवस्थापनमा देखा परेका चुनौतिहरु
१) बसाई सराई तथा मानिसहरुको ओहोरदोहोर भइरहने तराईका जिल्ला तथा ब्यापारिक केन्द्रहरुमा तोकिएको लक्ष अनुसार प्रगती भएता पनि पछाडि परेका र खोप प्रति नकारात्मक धारणा भएका स्थानहरुमा खोप लगाउन छुटेका बालबालिका देखिएको छ।
२) स्थानीय तहमा खोपजन्य रोगको महामारी व्यवस्थापन र थप खोप अभियानका लागि विशेष बजेट व्यवस्थापन नहुँदा कठिनाई।
३) नियमित खोपमा छुटेका बालबालिकाहरुलाई खोजेर खोप लगाउनका लागि आउने वातावरण मिलाउन स्रोत परिचालन गर्नुपर्ने
आगामी दिनमारोगथाम र नियन्त्रणका उपायहरु
१) खोप आधारभूत स्वास्थ्य सेवा भएको र नागरिकको खोप पाउने अधिकारलाई सुनिश्चित गर्नका लागी हरेक स्थानीय तहको नीति तथा कार्यक्रममा खोप कार्यक्रम शसक्तिकरणका नीति तथा कार्यक्रम समावेश गर्नु आवश्यक देखिन्छ।
२) प्रत्येक वर्ष बनाईने स्थानीय तहको नीति तथा कार्यक्रममा योजना तयार गरी बजेट सहितको कार्यक्रम वडा तहसम्म व्यवस्थापन गरिनुपर्ने।
३) अधिकांश बालबालिकाहरु आमासँग सिमावर्ति भारतका गाउँहरुमा कामको शिलशिलामा जाने भएकोले आफनो वडामा खोप सेवा संचालन हुने समयमा तथा सर्वेक्षणको समयमा समेत वडामा अनुपस्थित भएकोले खोप लगाएका बालबालिकाहरु छुट भएको देखिएको छ।
४) यस जिल्लामा बाहिरबाट मानिसहरु आइरहने हुँदा खोप लगाउन छुट बालबालिकालाई पूर्ण खोप दिन खोज र खोप अभियानलाई अझ शशक्त र प्रभावकारी बनाउनुपर्ने।
५) वैवाहिक सम्वन्धका कारण भारत र नेपाल दुवै ठाउँमा ओहोर दोहोर गरिरहने बालबालिकाहरु खोप लगाउन छुट्न सक्ने हुनाले ति बालबालिकाहरुको नाम दर्ता गरेर प्रत्येक वर्ष पूर्ण खोप घोषणा गर्दा खोप सेवा प्रदान गरि पूर्ण खोप पाएको सुनिश्चितता गर्नुपर्ने।
६) भारतसँग सिमाना जोडिएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई भारतमा लगाउने खोप त्यहाँको खोप तालिका र राष्ट्रिय खोप तालिकासम्बन्धी अभिमुखिकरण आवश्यक रहेको देखिन्छ।
सुरुको समयमा दादुरा रुबेलाको अभियान बाँकेका नयाँ कार्य भएकोले नयाँ सिकाइहरुसँग जुध्दै आपतकालिन समयमा सिमित साधन र स्रोतबाट पनि ५ स्थानीय तहहरुका १,२०,०६६ जना (१०४ प्रतिशत) बालबालिकाहरुलाई खोप सेवाबाट सुरक्षित गरिएको छ। आाजबाट बाँकेका बाँकी ३ स्थानीय तह राप्तीसोनारी, बैजनाथ र जानकी गाउंपालिकाका खोप लगाउन बाँकी ५२,५४३ जना बालबालिकालाई लक्षित गरी ५ देखि ७ दिन भित्र सम्पन्न हुने गरी खोप अभियान संचालन गरिँदैछ।
सन २०२३ को अन्तसम्मका नेपालबाट दादुरा निवारण (बालबालिकामा १ भन्दा कम वा शून्य बिरामी हुने) लक्ष लिएकोमा सन २०२३ को सुरुआतसँगै बाँकेमा दादुराको प्रकोप देखिनु दुखद भएता पनि रोग फैलने बित्तिकै बिरामीको सिघ्र निदान, निशुल्क उपचार, निरन्तर निगरानी र तत्काल ६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा–रुबेला बिरुद्धको खोप सेवा प्रदान गरिएकोले रोग समयमै नियन्त्रण तिर उन्मुख छ।