नेपालगन्जः आफ्नै बाबुले पेट्रोल छर्केर आगो लगाइएका कोहलपुरको वडा नम्बर २ शक्तिनगरका दुई वर्षीय नाबालकको मृत्यु भएको छ। आगोबाट जलेका २ वर्षीय प्रिन्स विकको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।
लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्याइएको थियो। छोराको अवस्था गम्भीर थियो। थप उपचारका लागि नेपालगन्ज लगिए पनि उनी बाँच्न सकेनन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार ती बालकको सोमबार बिहान ६ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो।
उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उहाँले बताउनुभयो। घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ। र, आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरिसकेको छ । आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।