७० औँ विश्व कुष्ठरोग विरुद्धको दिवसः बाँकेमा जोखिम र निवारणका प्रयास

    • मानव नेपाली

  • १५ माघ २०७९, आईतवार

आज ७० औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ। अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ।

बाँके, बर्दिया, रुपन्देही, कैलाली, कञ्चनपुर, अछाम, झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र परासी कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् ।

सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ । बाँकेमा विगत १० वर्षको तथ्यांक हेर्दा १ हजार २५२ जना कुष्ठरोगीका विरामी पहिचान भएका छन् । सन् २०२२ मा ७६ जना नयाँ रोगी पहिचान भएका छन् । यो अघिल्लो वर्षको तुलनामा संख्यात्मक हिसावले कम हो । सन २०२१ मा १०४ जना कुष्ठरोगी फेला परेका थिए ।

के हो कुष्ठ रोग ?
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ।

कुष्ठरोगको चिह्न र लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ।

कुष्ठरोगका प्रकार
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
१) बढी किटाणु भएको अर्थात (एमबी) कुष्ठरोग
२) कम किटाणु भएको अर्थात (पीबी) कुष्ठरोग

बाँकेमा कुष्ठरोग निवारणमा थालिएका प्रयास
सक्रिय बिरामी खोज पड्ताल कार्यक्रमः उच्च रोगभार भएका जिल्ला तथा स्थानिय तहमा परिवार तथा छिमेकीहरूको सम्पर्क परिक्षण, घर धुरी परिक्षण, छाला शिविर
कुष्ठरोग रोकथाम कार्यक्रम एलपिइपी कार्यक्रम मार्फत उच्च रोगभार भएका जिल्ला तथा स्थानिय तहमा रोकथाम कार्यक्रम
जनचेतना मुलक कार्यक्रमः अन्तक्रिया, कुष्ठरोग दिवस मनाउने, स्वास्थ्य शिक्षा तथा प्रचार प्रसार
अपांगता रोकथामः उपचार , जटिलताको ब्यबस्थापन, प्रेषण सेवा, स्वयम हेरचाह, परामर्श सेवा

पुर्नस्थापना कार्यक्रमः आय आर्जन, स्वयम हेरचाह समुह गठन, सहयोग सामाग्री वितरण, सीपमुलक तालिम, आरोग्य आश्रममा रहेका प्रभावितहरूलाई खान बस्न व्यवस्थापनमा सहयोग, सुधारात्मक सल्यक्रिया, आदि
सेवा प्रदायकहरूको क्षमता अभिबृदि
साझेदारहरूसंगको समन्वय तथा सहकार्य
बहु औषधीको व्यवस्थापन
तथ्यांक प्रमाणीकरण तथा कुष्ठरोग बिरामी प्रमाणीकरण
कार्यक्रम समिक्षा, नियमित अनुगमन, अनुशिक्षण, सुपरिवेक्षण तथा निगरानी

जनचेतना जगाउनेः कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ। समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक छ। समाजका सवै सरोकारवालाहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोचको खाँचो छ। यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्छ।

कुष्ठरोगको उपचार के हो ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।
कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ।

(मानव नेपाली स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकलपर्सन हुनुहुन्छ)

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech