नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगन्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
तर नेपालगन्जमा भने दादुराको प्रकोप नै फैलिसकेकाले ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई धमाधम दादुरा रुवेलाको खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ । मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगन्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ ।
नेपालगन्जमा १ सय १० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार ९ सय ३२ जना बालबालिकालाई खोप लगाइएको छ ।
बाँकेलाई दुई वर्ष अघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । तर, गएको १३ गतेदेखि दादुराका बिरामी भेटिएका थिए । दादुरा सर्ने रोग हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ ।
सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुवेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ ।
अझ जनसंख्या धेरै भएका नेपालगन्जमा जस्ता अरु ठूला शहरमा जोखिम उच्च छ । यो चिन्ताको विषय बनेको डा विवेककुमार लालले बताउनुभयो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,