बिदाबाट फर्किंदा स्वास्थ्य शाखा प्रमुख उमा थापाको कुर्सी खोसियो

    • स्वास्थ्य पेज

  • २६ पुष २०७९, मंगलवार

नेपालगन्जः बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमा थापाले आफूमाथि अन्याय भएको भन्दै न्यायिक समितिमा निवेदन दिनुभएको छ । शाखा प्रमुख उमा घर बिदा र असाधारण बिदामा बस्नु भएको थियो । बिदापछि कार्यालयमा उपस्थित हुँदा आफ्नो कुर्सीमा बस्न नपाएको भन्दै उहाँले न्यायिक समिति गुहार्नु भएको हो ।

उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले उमाको निवेदन परेको बताउनुभयो ।न्यायिक समितिमा उपप्रमुख संयोजक रहने व्यवस्था छ। ‘निवेदन दिनुभएको छ। कानूनी सल्लाह गर्दा कार्यालयभित्रकै विषय भएकोले दर्ता गर्न नमिल्ने रहेछ। तर हामी उहाँलाई न्याय दिन्छौँ,’ अर्यालले भन्नुभयो ।

उमा २०७७ साल चैत ९ गतेदेखि स्वास्थ्य शाखा प्रमुख हुनुहुन्थ्यो । उहाँले २०७८ कात्तिकमा दुई महिना सञ्चित घर बिदा र १२ महिना असाधारण बिदा लिनुभएको थियो । बिदा सकिएपछि उमा यही पुस १ गते कार्यालयमा हाजिर हुनु भएको थियो । कार्यकक्षमा पुग्दा शाखा प्रमुखको कुर्सीमा स्वास्थ्य शाखाकै कर्मचारी युवराज पाण्डे बस्नुभएको थियो । शाखा प्रमुखका रूपमा कार्यरत युवराजले प्रमुख प्रशासकीय अधिकृतको मौखिक निर्देशनमा आफूले जिम्मेवारी सम्हाल्दै आएको बताउनुभयो ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी भने बोल्न चाहानु भएन् । उपमहानगर प्रमुख खेलराज पाण्डेय प्रशासकीय अधिकृतलाई बेवास्ता गरेर अघि बढेको केही कर्मचारी बताउँछन्। शाखा फुटाएर भए पनि युवराजलाई नै शाखा प्रमुख बनाउने योजनामा नगरप्रमुख रहेको ती कर्मचारीको भनाइ छ।

 

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech