नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–७ फुलटेक्रामा दादुरा पुष्टि भएका बालबालिका एकै परिवारको भएको खुलेको छ । श्वासप्रश्वासका माध्यमबाट सर्ने र सजिलै फैलने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो ।
ज्वरो आउने, जिउ दुख्ने, रुघा खोकी लाग्ने तथा मुखको भित्र निलो र सेतो रंग मिसिएको दागजस्ता लक्षण लिएर ती बालबालिका उपचारका लागि बालरोग विशेषज्ञ डा विनोद खेतान कहाँ गएका थिए ।
‘उनीहरुमा दादुराको जस्तो लक्षण चिन्ह देखिएपछि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा तत्काल ब्लड स्याम्पल परीक्षणका लागि काठमाडौं पठाएका थियौं स्वास्थ्य कार्यालय प्रमुख पौडेलले भन्नुभयो–‘५ जनामध्ये ४ जनामा दादुरा संक्रमण पुष्टि भएको रिपोर्ट आज आएको छ ।’
दादुरा पुष्टि भएका ४ जनामध्ये ३ जना बालिका र एक जना बालक रहेका छन् । उनीहरु कसैले पनि दादुरा विरुद्धको खोप नलगाएको पाइएको छ । संक्रमण पुष्टि भएका बालबालिकाको सम्पर्कमा आएका अन्य ५ जना बालबालिकाको युरिन स्याम्पल पनि परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको छ ।
एकै परिवारमा ४-४ जना बालबालिकामा दादुरा पुष्टि भएपछि हामीले त्यसठाउँलाई क्लोज अब्जर्भेशनमा राखेका छौं स्वास्थ्य कार्यालय प्रमुख पौडेलले भन्नुभयो–‘ती बालबालिकाको सम्पर्कमा आएका र वरपरका अन्य बालबालिकाको पनि पहिचान गरिएको छ ।
केहीको स्याम्पल कलेक्सन पनि गरिएको छ । संक्रमण नफैलियोस् भन्ने सवालमा हामी चनाखो छौं ।’
उहाँले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर दादुरा नियन्त्रणका लागि पहल भइरहेको पनि बताउनुभयो ।