अमेरिकामा चिसोले ५६ जनाको मृत्यु

तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो


    • स्वास्थ्य पेज

  • १२ पुष २०७९, मंगलवार

नेपालगन्जः उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । गभर्नर क्याथे हुचेलले बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी हो भन्नु भएको छ ।

सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिनुभएको छ । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।

बीबीसीका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ ।

बीबीसीका अनुसार हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

हिउँले सडकहरु अवरुद्ध छन् भने सयौं उडानहरु रद्द गरिएको छ । क्रिसमस चाडको बेला भएको हिमपात र जाडोले मानिसहरुको दैनिकी प्रभावित भएको छ । आफन्तसँगै बसेर चाड मनाउने योजना पनि हवाई र स्थल यातायातका साधन नचल्दा प्रभावित भएको छ ।

केही स्थानमा विद्युत आपूर्ति पनि बन्द भएको छ । यद्यपि धेरैजसो स्थानमा विद्युत आपूर्ति सुरु भइसकेको समाचार सार्वजनिक भएको छ । समाचार एजेन्सी एपीका अनुसार सुरुको अवस्थामा १७ लाख मानिसहरु बिजुली विना बस्न बाध्य भए पनि अहिले त्यो संख्या घटेर २ लाखमा झरेको छ । मौसमविदहरुले हिमपात र चिसो केही दिनमा कम हुने बताएका छन् छन् ।

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech