नेपालगन्जः नेपालगन्जमा चार दिने मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सुरु भएको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा तालिम सुरु भएको हो । बाँके, बर्दिया, सुर्खेत, कैलाली र कंचनपुरका पाँच जिल्लाका २५ जना सहभागी तालिमको सहजिकरण गुठीका निर्देशक डा अरुणा उप्रेतीले गर्नु भएको छ ।
पोषण अभियान्ता समेत रहनुभएकी डा उप्रेती पछिल्ला दिनमा मानसिक स्वास्थ्यका बारेमा पनि सचेतना फैलाउने काम गर्दै आउनुभएको छ । त्यसैको शिलशिलामा उप्रेती नेपालगन्ज आउनुभएको हो । अमेरिकामा मानसिक स्वास्थ्य सम्बन्धित तालिम लिएपछि पछिल्लो समय उहाँले पोषण र मानसिक स्वास्थ्यका बारेमा जनचेतनामूलक अभियान चलाउँदै आउनु भएको छ ।
गुठीले मुलतहः जोखिममा पर्न सक्ने समुदायका बाललिकाहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ती बालिकाहरुलाई विद्यालयको पहुँचसम्म पुर्याउने काम गर्छ । त्यसका लागि गुठीले आफ्नो समूह बनाएको छ ।
ति समूहमा आवद्ध अलम सदस्य, शुक्रबारे सहजकर्ता र समुदायिक विद्यालयका शिक्षकलाई तालिममा बोलाइएको छ । गुठीका बाँके प्रबन्धक गणेश भट्राईले मानसिक स्वास्थ्य पहिचान, उपचार र निदानका बिषयमा सचेतना फैलाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका लुम्बिनी प्रदेश संयोजक आयुस ढकालले मानसिक स्वास्थ्य समस्याबारे सबैलाई सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । समाजमा मानसिक समस्यालाई हेयका दृष्टिकोणले हेर्ने गरिएको भन्दै उहाँले त्यसको परिवर्तन जरुरी रहेको उल्लेख गर्नुभयो ।