कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको हो ?

    • स्वास्थ्य पेज

  • ७ पुष २०७९, बिहीबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ ।

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भएका छन् । तर छिमेकी देश चीनमा फैलिएको र विश्वको अन्य देशमा पनि देखिएको बीएफ-७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भयो ।

डा. अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको बताउनु भयो । ‘विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ ।’

मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन् ।मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।

साथै सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक स्क्रिनिंङ, निगरानी, सतर्कता एवंम आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रवेश विन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ । बिहीबार नेपालमा जम्मा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

  • ७ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech