काठमाडौं: ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ ।
पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले भनेको छ, ‘पेलेको क्यान्सर रोग फैलँदो अवस्थामा छ । उहाँको मिर्गौला र मुटुको विशेष ध्यान राख्नुपर्ने आवश्यकता छ ।’
सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । त्यसयता उहाँको नियमित उपचार हुँदै आएको छ । ‘हामीले घरमा क्रिसमस मनाउन नपाउने भयौं,’ पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा लेख्नु भएको छ, ‘हामीले चिकित्सकसँग सल्लाह गरेर यहीँ रहने निर्णय गर्यौं । किनभने उहाँलाई अस्पतालमै रहनु फाइदा छ ।’
साओ पाउलोको यो अस्पतालले पेले भर्ना भएगलत्तै स्वासनलीमा संक्रमण देखिएको र उपचार भइरहेको जनाएको थियो । केहि समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेको बताएको थियो ।
पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरी सर्वकालीन अग्रणी गोलकर्ता हुनुहुन्छ । उहाँले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि तीनपल्ट विश्वकप उपाधि जित्नु भएको छ ।