टिबी नेपाललाई १२ लाख बराबरको स्वास्थ्यसहितको सामाग्री हस्तान्तरण

    • स्वास्थ्य पेज

  • ६ पुष २०७९, बुधबार

नेपालगन्जः विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग गरेको छ । टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका बिरामीका लागि उक्त सामाग्री सहयोग गरेको हो ।

विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम बुढाथोकीका अनुसार, २० थान लोबेड, २० बेड लकर टेबुल, २० थान म्याट्रेस, २० सिरानी, २० थान झुल, २० थान बलाङ्केट, सय थान ज्याकेट, सय थान टोपी, २० थान हटब्याग, ८० थान पोलार बलाङ्केट, कार्पेट, शुद्ध खानेपानीका लागि वाटर प्यूरीफिकेशन जडान गरिएको छ । उहाँले विराट नेपालले टिबी रोकथाम तथा न्यूनीकरणमा काम गर्दै आइरहेको जानकारी दिनुभयो ।

होस्टेलमा ३१ जना विरामी भर्ना भएका छन् भने १४ जना नियमित बसिरहेको टिबी नेपालका कार्यक्रम संयोजक हिक्मत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार टिबी नेपालले २० बेडको होस्टेल सञ्चालन गर्दै आएको छ ।

आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम बुढाथोकी, स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन मानबहादुर नेपालीलगायतले टिबी नेपालका अध्यक्ष लक्ष्मण रेग्मीलाई उक्त सामाग्री हस्तास्तरण गर्नुभएको हो ।

त्यसक्रममा स्वास्थ्य निर्देशक डा गिरीले गैर नाफामुलक टिवी नेपालले टिबी न्यूनीकरण तथा उपचारमा नमुनायोग्य काम गर्दै आएको बताउनुभयो । उहाँले टिबी अस्पताल सञ्चालनका लागि भवन निर्माणमा प्रदेश सरकारबाट पनि प्रयास भइरहेको बताउनुभएको छ । बाँकेको ढकेरीमा टिबी अस्पताल सञ्चालनको तयारी छ ।

  • ६ पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech