समाजमा अझै पनि धेरैको बुझाइ छ, निःसन्तानपनको समस्या महिलाकै कारण हुन्छ । कतिपयमा त यो देवीदेवताको श्रापले भएको भन्ने अन्धविश्वास समेत व्याप्त छ ।
अहिले चिकित्सा विज्ञानले यस्तो भ्रमलाई चिर्दै निःसन्तानपनको समस्या कुनै श्राप होइन, शारीरिक अवस्था हो र यसको उपचार छ भन्ने स्थापित गराइरहेको छ ।
नेपाल, भारत, बंगलादेश लगायतका दक्षिण एसियाली मुलुकमा निःसन्तान दम्पतीको संख्या करिब १५ प्रतिशत छ । यीमध्ये ८० प्रतिशतको उपचारपछि सन्तान हुन्छ भने २० प्रतिशतलाई अन्य उपाय जस्तै ‘आईभीएफ’, ‘एडप्ट’ लगायतका विकल्प छन् ।
वैदेशिक रोजगारका लागि युवाहरु विदेशिने क्रम बढेसँगै नेपालमा निःसन्तानपनको समस्या अरु बढेको देखिन्छ । अस्पतालमा यस्तो समस्या लिएर आउने धेरै बढेको वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा भोला रिजालको भनाइ छ ।
‘१० वर्षयता जब हाम्रा युवाहरू रोजगारीको लागि खाडी मुलुकहरूमा जान थाले, त्यसपछि निःसन्तान हुनेहरूको संख्या पहिलेको तुलनामा दोब्बर भएको हो,’ उहाँ भन्नुहुन्छ, ‘नेपाली दम्पतीमा निःसन्तानपनको दर बढ्नुको सबैभन्दा प्रमुख कारण वैदेशिक रोजगारी हो ।’ यद्यपि ढिलो उमेरमा विवाह र लामो समयसम्म गर्भ निरोधक उपाय अपनाउनु पनि अर्को कारण भएको डा रिजाल बताउनुहुन्छ ।
अधिकांश युवा विदेशमा गएर शारीरिक श्रम गर्छन् । खाडी मुलुकको ४०(५० डिग्री सेल्सियस तापक्रममा काम गर्दा सन्तान उत्पादन क्षमता पनि ह्रास भइरहेको हुन्छ । त्यसपछि नेपाल फर्किंदा सन्तान उत्पादनमा समस्या भइरहेको देखिन्छ ।
‘परिवारसँग छुट्टिएर बस्दा उनीहरूलाई मानसिक तनाव हुन्छ । त्यसलाई कम गर्न धुम्रपान, मद्यपानको सहयोग लिन्छन् । त्यसले पनि प्रजनन क्षमतामा ह्रास ल्याउँछ,’ डा रिजालको भनाइ छ ।
विवाहलगत्तै श्रीमान् श्रीमती वैदेशिक रोजगारीका लागि छुट्टिनुपर्ने अवस्था आउँछ । विदेशिएका कति युवायुवतीले आफूसँगै यौनरोग समेत भित्र्याउँछन् र आफ्नो पार्टनरलाई सार्छन् । यौनसम्बन्धी रोगले पनि निःसन्तानपनको समस्या बढाउन भूमिका खेलेको डा रिजालको भनाइ छ ।
रेमिट्यान्स भित्रियो, निःसन्तापन बढ्यो
‘यसरी विदेशिएका युवायुवतीहरूमा निःसन्तानको समस्या देखेर हामी डाक्टरहरू कहिलेकाहीं भन्ने गर्छौ ‘बाहिर जाने युवाहरूलाई वीर्य भण्डारण गरेर मात्र पठाऔं,’ डा रिजालको तर्क छ ।
आफूहरुले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीमा जाने कारण नै दम्पतीमा निःसन्तानपनको समस्या बढेको देखिएको डा रिजाल बताउनुहुन्छ । ‘यसबारेमा हामीले आफ्नो क्लिनिक तथा अस्पतालमा आएका बिरामीहरूलाई लिएर एउटा अध्ययन गरेका थियौं । जसमा निःसन्तानको समस्या लिएर आउनेमध्ये विदेश बसेर आएकाहरू बढी थिए,’ उहाँनी भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा गएकाहरूमा शारीरिक मात्र होइन, मानसिक असर परेको हामीले भेट्यौं ।’
रोजगारीमा गएका युवायुवतीले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । देशमा रेमिट्यान्स त भित्रियो तर सँगै निःसन्तानपनको समस्या पनि भित्रियो । सन्तान नै भए पनि बच्चा विकलाङ्ग हुने जोखिम बढेको डा रिजाल बताउनुहुन्छ ।
‘यसरी युवाहरू विदेशिने क्रम नरोकिने हो भने उनीहरूबाट जन्मिएका नयाँ पुस्तामा मानसिक तथा शारीरिक रूपमा अशक्त हुने सम्भावना बढ्छ,’ उहाँ भन्नुहुन्छ– ‘त्यसैले युवालाई रोजगारीको लागि विदेशिन रोक्न राज्यले केही कदम चाल्नैपर्छ ।’
ढिलो उमेरमा विवाह पनि कारण
ढिलो उमेरमा विवाह गरेका कारण पनि निःसन्तानको एक कारण हो । साथै लामो समयसम्म गर्भ निरोधक उपाय अपनाएकामा पनि यो समस्या देखा परेको डा रिजाल बताउनुहुन्छ ।
‘धेरै लामो समय नरप्लान्ट, कपरटी, तीनमहिने सुईको प्रयोग गर्दा बाँझोपन हुने सम्भावना बढ्छ । तर चिकित्सकको सल्लाह लिएर लो डोजको पिल्सको सेवन गर्दा बाँझोपनको समस्या देखिंदैन,’ उहाँ थप्नुहुन्छ ।
चिकित्सकको सल्लाहबिना ८-१० वर्षसम्म गर्भनिरोधक उपाय अपनाउँदा भने निःसन्तानको जोखिम मात्र होइन, महिनावारी नै नहुने समस्या भएका थुप्रै उदाहरण पनि भेटेको डा। रिजाल बताउँछन् ।
वीर्य भण्डारण एक विकल्प
वैदेशिक रोजगारीमा जानेले वीर्य भण्डारण गरेर आफूले चाहेको समयमा गर्भधारण गराउन सक्ने प्रविधि नेपालमा पनि छ । वीर्य तथा अण्ड भण्डारणका पनि केही विधि छन्, जस्तो: क्यान्सर तथा अन्य रोग लागेर पछि सन्तान जन्माउन समस्या हुनसक्छ भने त्यस्ता महिला तथा पुरुषको लागि शुक्रकीट तथा अण्ड भण्डारण प्रभावकारी हुनसक्छ ।
डा रिजाल भन्नुहुन्छ, ‘यो मान्छेको आवश्यकता अनुसार ८-१० वर्षसम्म पनि फ्रिज गरेर राख्न सकिन्छ । ३८ वर्ष पुरानो डिम्बलाई ट्रान्सप्लान्ट गरेर बच्चा जन्मिएको कुरा पनि बाहिर आएको छ ।’
वीर्य वा अण्ड भण्डारण गर्दा व्यक्तिको विवरण सबै टिपेर सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण गर्न सकिन्छ । जति समयपछि आफूलाई बच्चा जन्माउन मन लाग्छ, त्यसपछि त्यसलाई गर्भधारण गराइन्छ ।
वीर्य भण्डारण गरेर श्रीमान् वैदेशिक रोजगारीको लागि गए र यता श्रीमतीले त्यो भण्डारण गरेको वीर्यबाट सन्तान जन्माइन् भने समाज र परिवारले पनि त्यो कुरालाई सहज रूपमा लिन सक्दैन । तर समाज र परिवारको सोचलाई नयाँ प्रक्रियासँग जोड्दै लैजानुपर्ने डा रिजाल सुझाउनुहुन्छ ।
तर वीर्य भण्डारण निःसन्तान दम्पतीको लागि एउटा विकल्प मात्र हो, सधैंका लागि समाधान भने नहुने डा रिजाल बताउनुहुन्छ ।
‘वीर्य भण्डारण गरेर युवालाई विदेश पठाउने भन्दा पनि उनीहरूलाई नेपालमै रोजगारी दिने वातावरण बनाउनु चाहिं राम्रो हो । श्रीमान् र श्रीमती एक जना विदेश जाँदा एउटालाई धेरै मानसिक तनाव हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘निःसन्तान दम्पतीको लागि यो एउटा विकल्प मात्र हो सधैंका लागि समाधान होइन । यसलाई म प्रोत्साहन गर्दिनँ ।’
वीर्य भण्डारण प्रक्रियाका लागि खर्च कति ?
गर्भधारण गर्न कति खर्च लाग्छ भन्ने कुरा महत्वपूर्ण नभएको डा। रिजाल बताउँछन् । ‘यसरी गर्भधारण गर्न कति खर्च लाग्छ भन्ने कुरा महत्त्वपूर्ण होइन । यसरी गर्भधारण गर्न चाहनेले त जति खर्च गरेर पनि गरिहाल्छन् । तर यो गर्भधारण प्रक्रिया अपनाएर हामी युवालाई विदेशिन प्रोत्साहन गर्न सक्दैनौ । त्यसैले यो प्रक्रियालाई म धेरै मान्यता दिन चाहन्नँ,’ उहाँको सुझाव छ ।
वीर्य भण्डारणका लागि उमेरको कुरा पनि अगाडि आउन सक्छ । यसमा उमेरको हदबन्दी खासै नहुने डा रिजाल बताउनुहुन्छ । तर ३० वष भित्र वीर्य भण्डारण गर्नु राम्रो भएको उहाँ बताउनुहुन्छ ।
वीर्य भण्डारण प्रक्रियाबाट जन्मिएको बच्चाको स्वास्थ्य
डा रिजालका अनुसार वीर्य भण्डारण गराएर जन्मिएको बच्चामा कुनै समस्या वा खराबी आउने जोखिम हुँदैन । कसैलाई क्यान्सर तथा अन्य रोग लाग्दै छ वा अन्य कारणले जसले गर्दा बच्चा नहुने सम्भावना हुनसक्छ । त्यस्ता व्यक्तिका लागि यो वर्षौंसम्म वीर्य तथा अण्ड भण्डारण गरेर बच्चा जन्माउन मिल्छ । उनीहरूको लागि त यो प्रविधि एउटा वरदान नै भएको डा रिजालको भनाइ छ ।