नेपालगन्जः आज विश्व एड्स दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । बाँकेमा पनि एच.आई.भी. एड्समा कार्यरत विभिन्न संघसंस्थाहरुले र्याली, चेतनामुलक सडक नाटक प्रदर्शन लगायतका कार्यक्रमको आयोजना गरि दिवस मनाउँदैछन् ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत्तरूपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाइने गरिन्छ ।
एड्स विरुद्घ विश्व अभियान कार्यक्रममा ऐक्यबद्घता जनाउनको लागि विश्व भरका सबै सरकारी, गैरसरकारी तथा निजी संघ संस्थाहरू, नागरिक समाज, संचार माध्यमलगायत सबै क्षेत्र र वर्गका व्यक्तिहरू एकजुट भई यो दिवस मनाइने गरिन्छ ।
विश्व एड्स दिवस २०२२ “एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” “To Keep Everyone Safe, To Protect Everyone’s Health, We Need To Equalize” भन्ने मूल नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाईदैछ । यो मूल विषय तथा नाराले असमानतालाई सम्बोधन गर्न र एड्सको अन्त्यमा मद्दत गर्न आवश्यक प्रमाणित व्यावहारिक कार्यहरूका लागि काम गर्न हामी सबैलाई आह्वान गर्दछ । एड्सको महामारीलाई निरन्तरता दिने असमानताहरू यथावत छन हामी तिनीहरूलाई सामना गर्न सक्छौं। यो विश्व एड्स दिवस,१ डिसेम्बरले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्न आग्रह गरिरहेको छ जसले एड्स अन्त्य गर्न रोकिरहेको छ ।
सन् २०२१ को अन्त्यमा ३ करोड ८४ लाख ब्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा २०२१ को अन्त्यमामा ३०००० जनामा एचआइभी संक्रमण भएको अनुमान छ, जसमध्ये बयस्क (१५ वर्षदेखि ४९ वर्षको उमेर समुहमा) जनसंख्याको ०.१२ प्रतिशतमा एचआइभी संक्रमण दर छ, सन् २०२१ को अन्त्य सम्म नेपालमा ए.आर.टीउपचारमा रहेकाहरुको संख्या २१, ७२३ रहेको छ ।
बाँकेमा आर्थिक वर्ष २०७८÷०७९ सम्मको अभिलेख अनुसार ५३८ जना एच.आई.भी.संक्रमित भेरी अस्पतालमा ए.आर.टी. उपचारमा रहेका छन् । र, हालसम्म १७० जनाको मृत्यु भएको तथ्यांक छ । नेपालको बर्तमान एचआईभीको अबस्थालाई केन्द्रीकृत महामारी (अर्थात कन्सन्ट्ेटेड इपिडेमिक) को रुपमा परिभाषित गरिन्छ । यसको अर्थ एक वा सो भन्दा बढी एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम हुनु हो)
नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु जस्तैः सुईद्वारा लागूपदार्थ प्रयोगगर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि बिदेशिनेहरु हुन् । यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूह भन्दा उच्च छ ।
नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरे अनुरुप उच्च जोखिममा रहेका समुहहरु जस्तै सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र तिनका ग्राहाकहरु, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पतिहरु र जेलमा रहेका कैैदिहरुका लागि एचआईभी रोकथाम कार्यक्रम एवम् संक्रमित र प्रभावितहरुका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सचांलन भईरहेको छ ।
विश्वमा एचआइभी पत्ता लागेको ४१ वर्ष पुगिसकेकोछ भने विश्व एड्स दिवस मनाउन थालेको ३५वर्ष भइसकेको छ । नेपाल लगायत विश्व ब्यापीरूपमा नै एचआइभीको नयाँ संक्रमण घट्दै गइरहेको छ ।
एचआइभी र एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहको छ । भने, हेरचाह र सहयोग लगायत एआरभी औषधि उपचारमा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको छ । यी सबै उल्लेखनीय सफलता हासिल हुनुको पछाडि सम्पूर्ण क्षेत्रको उल्लेखनीय र अतुलनीय योगदान रहेको छ ।
अझै पनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणको पहुँचमा ल्याउने र सवै संक्रमितहरुलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
एड्सको महामारीलाई अन्त्य गर्नका लागि हामी सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीब्र बनाउन जरूरी छ ।