नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह अर्थात अतिरिक्त स्वास्थ्य सचिव पदको बढुवा प्रक्रिया अघि बढाएको हो ।
बढुवा समितिले वुधबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनिएको छ । डा श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अनिवार्य अवकाश पाएसँगै अतिरिक्त स्वास्थ्य सचिवको दुईवटा दरबन्दी रिक्त भएको हो ।
बाह्रौं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ को उपदफा १० बमोजिम एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेस गर्न भनिएको छ ।
बाह्रौं तहमा बढुवाका लागि १० जना भन्दा बढी कर्मचारी योग्य छन् । तर, दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने ४ जनाको नाम बढुवा समितिले मन्त्रिपरिषदमा पठाउने छ ।
तीमध्येबाट दुईजना १२ औं तहमा बढुवा हुनेछन् । कार्य सम्पादन मूल्यांकनको आधारमा बाह्रौं तहमा डा विकास देवकोटा र डा टंकप्रसाद बाराकोटी बढुवा हुने सम्भावना बढी छ ।
कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुवै जनाको नम्बर बढी छ । डा बाराकोटी यस अघि नै पहिलो नम्बरमा सिफारिस हुनु भएको थियो । तर उहाँलाई रोकेर डा संगीता कौशल मिश्राको बढुवा भएको थियो ।