बालबालिकामा हुने समस्या ब्रोंकियोलाइटिस के हो?

    • डा राजकुमार विक/बालरोग विशेषज्ञ

  • २९ कार्तिक २०७९, मंगलवार

जाडो महिना सुरु हुन लागेसँगै कान्ति बाल अस्पतालमा बिरामीहरु बढ्न थालेका छन्। विशेषगरी २ वर्ष मुनीका बच्चा घ्यार-घ्यार गर्ने र श्वास फेर्न कठिनाई भएर इमरजेन्सीमा लिएर आउनुहुन्छ। तीमध्ये कतिको शरीरमा अक्सिजनको कमी भएर गम्भिर भएपछि एचडीयू /आइसियू मा भर्ना गरिन्छ वा कतिपयलाई बेड नपुगेर रिफर गर्नुपर्ने बाध्यता छ। आउनुहोस् आजको यस अंकमा हामी प्रायः गरेर २ वर्ष मुनीका बच्चालाई अस्पताल भर्ना गर्नुपर्ने एउटा प्रमुख कारण (ब्रोंकियोलाइटिस) बारे जानकारी लिऔं।

ब्रोंकियोलाइटिस  के हो?
साना बच्चाहरु र शिशुहरुमा देखिने फोक्सो (ब्रोंकियोलस) को संक्रमण हो। जसले श्वासप्रश्वास प्रणालीको साना भागहरूमा सूजन निम्त्याउँछ र समस्याहरु देखापर्न थाल्दछन्। प्राय गरेर २ वर्ष मुनीका बालबालिका लाई असर गर्ने गर्दछ। रेस्पिअटोरी सेन्कीटाइल भाइरसले मात्रै विश्वभरीमा ५ वर्ष मुनीका करिब ३ करोड बच्चालाई असर गर्ने गरेको, त्यस्तै ३२ लाख बच्चाहरु अस्पताल भर्ना हुने गरेका छन् भने वार्षिक २ लाख बच्चाहरुले ज्यान गुमाउने गरेका छन्। प्राय गरेर २ वर्षभित्र सबै बालकलाई यो भाईरसले असर गरिसक्ने भएता पनि धेरैजसोमा सामान्य असर मात्रै देखिने गर्दछ।

कारण के हो?
रेस्पिअटोरी सेन्किटाइल भाइरस, राइनो भाइरस पराइन्फ्लुजा इन्फ्लुन्जालगायत केही ब्याक्टेरियाले पनि गराउँछ।  मुख्य कारणमा रेस्पिअटोरी सेन्किटाइल भाइरस नै हो।

लक्षणहरु के-के हुन?
सुरुवाती समयमा १-३ दिनको सामान्य हाच्छ्युँ तथा रुघा लाग्ने गर्दछ;
तारन्तर खोकी लाग्ने र सो खोकी ३ हप्तासम्म पनि रहन सक्छ।
छिटो छिटो सास फेर्ने, कोखा हान्ने, शिशुहरूमा सास फेर्न कठिनाई
छाति घ्यार घ्यार हुने
प्राय ३ देखी ६ महिनाका बच्चालाई देखिने भएता पनी २ वर्ष मुनीलाई बढी असर गर्छ
त्यस्तै ६ हप्तामुनी को बच्चाहरुमा केही समय(१० सेकेन्ड)लाई श्वास नै रोक्ने समस्या देखिन्छ
खान मन नगर्ने, जल बियोजन हुने
शरीरमा अक्सिजनको कमी भई ओठ मुख निलो हुने गर्दछ
समयमा उपचार नपाए ज्यान पनि जान सक्छ
कस्ता बच्चालाई गम्भिर प्रकृतिको समस्या आउछ त?
समय नपुगी बच्चा जन्मिएमा
कम तौल (२.५ केजी) को बच्चामा
उमेर ६-१२ हप्ता का भएमा
फोक्सोको दीर्घरोगी भएका बच्चामा
मुटुरोग भएका बच्चामा
कमजोर प्रतिरक्षा प्रणालीसंग
भीडभाडमा बस्नेहरू
बच्चाहरु डे केयरमा उपस्थित

रोकथामका उपाय
साना बच्चाहरुको अन्य बच्चाहरुसंग वा श्वासनली संक्रमणभएका वयस्कहरुसंग सम्पर्क नगर्नुहोस्;
आफ्नो बच्चाको हेरचाह गर्नुअघि र पछि सधैं आफ्नो हात धुनुहोस्;
खेलौनाहरु सफा राख्ने
स्तनपानलाई प्रोत्साहन दिनुहोस् र पर्याप्त मात्रामा तरल पदार्थ प्रदान गर्नुहोस्
घरमा धूम्रपान नगर्नुहोस्, बच्चा भएको कोठा बाहेक अन्य कोठाहरूमा पनि

जटिलताहरू

कानको संक्रमण,निमोनिया,मुटु फेल हुने, केहीमा पछी गएर बालदम हुन सक्ने

(लेखक कान्ति बाल अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

  • २९ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech