नेपालगन्जः काठमाडौं महानगरपालिकाका मेयर बालेनले ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको बुधबार बिहान अवलोकन गर्नुभएको छ । उक्त केन्द्र पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाईमा सञ्चालित छ ।
स्वास्थ्य केन्द्रको अवलोकनपछि मेयर शाहले स्वास्थ्य केन्द्र राम्रो लागेको प्रतिक्रिया दिनुभयो । ‘राम्रो रहेछ। महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ उहाँले भन्नुभयो–‘त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं ।’
उहाँले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, बजेट र पूर्वाधारका विषयमा पनि चासो दिएर जिज्ञासा राख्नुभएको थियो । सो क्रममा गगन थापाका सल्लाहकार प्रताप पौडेलले हाल उक्त केन्द्र सञ्चालनका लागि वर्षिक एक करोड हाराहारीमा खर्च हुने गरेको र जनशक्तिमा विशेषज्ञ चिकित्सकदेखि सरसफाईं कर्मचारीसम्मको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
पौडेलेको कुरा सुनेपछि मेयर शाहले महानगरले कति रकम खर्च गर्दा यस्ता केन्द्रहरु सञ्चालनमा ल्याउन सक्छ भन्ने विषयमा पनि गृहकार्य गरिरहेको प्रतिक्रिया दिनुभयो । ‘केन्द्रहरु आफैं सेल्फ सस्टेन हुन सक्छन् कि सक्दैनन्। हुन त स्वास्थ्यमा लगानी गर्नैपर्छ। उहाँले भन्नुभयो–‘महानगरले कति खर्च गर्दा यस्ता केन्द्र बन्छन् भन्ने पनि हो।’
उहाँले विशेषज्ञ चिकित्सकदेखि स्वास्थ्यकर्मी र अन्य कर्मचारीको तलब लगायतका सेवासुविधाका विषयमा पनि चासो राख्नुभएको छ । स्वास्थ्य केन्द्रको सरसफाईं देखेर प्रभावित भएका शाहले कर्मचारीलाई सँधै यस्तै सफा हुन्छ भनेर जिज्ञासा समेत राख्नुभएको थियो । ‘कस्तो सफा रहेछ। सफा देखेर मलाई त अचम्म लाग्यो। सँधै यस्तै सफा हुने हो’ शाहले प्रश्न गर्नुभयो ।
स्वास्थ्य केन्द्र गगन थापाको अगुवाईमा मानव स्वास्थ्यसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० द्वारा सञ्चालित हो। गत चैतदेखि नियमित रुपमा सञ्चालनमा आएको केन्द्रमा पछिल्लो समय डेंगुको निस्शुल्क परीक्षण भइरहेको छ। यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवर्द्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।
एमडिजिपी चिकित्सकद्धारा नियमित रुपमा ओपिडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक कान घाँटी, सामान्य चिकित्सा, आयुर्वेदक चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ। एक्सरे, इसिजी, फिजियो थेरापी, मानिसक स्वास्थ्य परामर्श सहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ।