मलद्वारको क्यान्सर नेपालमा नौलो होइन। यो क्यान्सर के कारणले हुन्छ भनेर यसै भन्न सकिँदैन। यसको एउटा प्रमुख कारण वंशानुगत हो।
धेरैजसो मलद्वारको क्यान्सर दिशा गर्ने ठाउँको आन्द्रामा एउटा पोलिप भन्ने एउटा सानो मासु पलाएपछि सुरू हुन्छ। यी पोलिपहरु सामान्यतया सौम्य हुन्छन्, तर केही धेरै वर्षको अन्तरमा विस्तारै क्यान्सरको रूपमा विकास हुन सक्छन्। कारणबस कुनै रेडियो थेरापी लिएको छ भने त्यसको कारणले पनि यस्तो क्यान्सर हुन सक्छ।
दिसा गर्ने ठाउँबाट रगत बग्नु, मासु बाहिर निस्किने, दिशा गरौं गरौं जस्तो लाग्नु तर दिसा गर्दा दिशा नहुने, दिशा गर्ने ठाउँ वरिपरि दुख्नु, दिशा धेरै पटक लाग्नु अथवा दिशा धेरै पटक हुनेलाई एक पटक मात्रै हुनु पनि मलद्वारको क्यान्सरका लक्षण हुन्।
ठूलो आन्द्राको अन्तिम भाग (रेक्टम)बाट फैलिएर कलेजोमा गयो भने जन्डिस हुने, पेटमा गएमा पेट फुल्ने, हड्डीमा गएमा जहाँ पुगेको छ त्यहाँ दुख्ने हुन्छ।
शरीरका कुनै पनि ठाउँमा क्यान्सर भएपछि बिरामीको उपचारको लागि परीक्षण गरिन्छ। कतिपय परीक्षणबाट क्यान्सर कुन चरणमा छ भनेर हेरिन्छ। कोलोनोस्कोपी गरेर क्यान्सर रोगको परीक्षण गरिन्छ। पेट र छातिको सिटी स्क्यान लगायत गर्नुपर्छ। त्यस्तै आवश्यकता अनुसार अरू परिक्षण गरिन्छ।
क्यान्सर कुन चरणमा छ भन्ने आधारमा त्यसको उपचार विधि निर्धारण हुन्छ। पूर्ण रूपमा निको हुने कि नहुने भन्ने पनि यसमै भरपर्छ।
कतिपय बिरामीहरू अहिले पनि क्यान्सर हुनासाथ भारत उपचार गर्न जान्छन्। विगतमा त्यस्तै गरेकाले बानी लागेको हो। तर पछिल्लो समय नेपालमा पनि यस्तो उपचार प्रविधि छ। त्यसैले रेक्टम क्यान्सरको उपचारका लागि विदेश जानुपर्दैन। सबैजसो क्यान्सरको उपचार नेपालमै सम्भव छ।