संसारमा कहिलेकाहीं अकल्पनीय घटना हुन्छन् । भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै घटना भएको छ । त्यहाँ २१ दिनकी एक शिशुको पेटबाट आठवटा अविकसित भ्रुण निकालिएको छ ।
राँचीस्थित रानी बाल अस्पतालमा शल्यक्रिया गरी ती भ्रुण निकालिएको हो । शिशु अहिले पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।
एक महिलाले गत अक्टोबर १० मा एउटा स्थानीय अस्पतालमा ती शिशुको जन्म दिएकी थिइन् । पेटमा समस्या देखिएपछि अस्पतालमा उनको सिटी स्क्यान गराइयो । त्यस क्रममा उनको पेटमा ट्युमर भएको आशंका डाक्टरहरुले गरेका थिए । राम्रो उपचारका लागि डाक्टरहरुले ती शिशुलाई राँची पठाइदिए । राँचीको बाल अस्पतालमा ती बच्चीको शल्यक्रिया गरी पेटमा रहेको वस्तु निकाल्ने क्रममा चिकित्सकहरु छक्क परे । किनकि उनको पेटमा ट्युमर नभई आठवटा अविकसित भ्रुण थिए ।
चिकित्सकका अनुसार नवजात शिशुको पेटमा यस्तो अविकसित भ्रुण फेला पर्नु निकै दुर्लभ घटना हो । १० लाख बच्चामा एक जनामा मात्र यस्तो हुन्छ ।
यसलाई चिकित्सा भाषामा फिटस इन फिटू भनिन्छ । जहाँ बच्चाको पेटमा बच्चा बन्न लाग्छ । चिकित्सकका अनुसार जब गर्भमा एक भन्दा धेरै भ्रुण हुर्किरहेका हुन्छन्, त्यसबेला कुनै भ्रुणको विकास कम हुँदा त्यस्ता भ्रुण विकसित भ्रुणभित्र विलय हुन्छन् । अनि त्यस्ता भ्रुण बच्चाको शरीरभित्र बढ्न थाल्छन् ।
एजेन्सीको सहयोगमा
१९ कार्तिक २०७९, शनिबार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज