तिलगंगासँग सम्झौता भएसंगै र सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्ने

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७९, बुधबार

नेपालगन्ज: काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । त्यस सम्बन्धी एक सम्झौता पत्रमा आज काठमाडौंमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रिता गुरुङ र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा अस्पताल खुल्ने छ । अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराउने छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा लेखिएअनुसार राप्ती गाउँपालिकाले उपलब्ध गराएको स्थानमा एक वर्षसम्म तिलगंगा अस्पतालले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाले लिने छ ।

सम्झौतापछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तत्कालको लागि अहिलेको सिसहनियाँ स्वास्थ्य चौकी रहेको भवनमा ग्रामिण आँखा उपचार केन्द्र स्थापना हुने बताउनुभयो। भविष्यमा भने शल्यक्रिया सेवासहितको प्रदेशस्तरकै आँखा अस्पताल स्थापना गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो।

‘आँखा अस्पतालको लागि भवनलगायतका भौतिक पूर्वाधार हामीले उपलब्ध गराउने र उपकरणसहितको टेक्निकल टिम तिलगंगाले गर्ने गरी हामीले सम्झौता गरेका छौं,’ राप्ती गाउँपालिका अध्यक्ष विष्टले भन्नुभयो- ‘पछि त्यसको स्वामित्व पालिकाले लिने गरी ३० वर्षको सम्झौता भएको छ ।’

सम्झौतामा आँखा सम्बन्धी प्रवर्द्धनात्मक, प्रतिरोधात्मक र अनुसन्धानमुलक कार्यक्रम पनि सन्चालन हुने उनले जानकारी दिए । सिसहनियाँमा आँखा उपचार केन्द्र सुरु भएपछि राप्ती गाउँपालिकाका साथै गढवा गाउँपालिकाका बासिन्दा पनि लाभान्वित हुने अध्यक्ष विष्टको भनाइ छ ।

तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक डा. रीता गुरुङले आगामी जनवरी महिनादेखि नै सिसहनियाँमा आँखा उपचारको लागि ओपीडी सेवा सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो। त्यसको तयारीका लागि तिलगंगा आँखा अस्पतालबाट चिकित्सक र इन्जिनियरसहितको टोली सिसहनियाँ जाने उहाँले जानकारी दिनुभयो ।

स्थानीय पालिकाहरुसँगको सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक र व्यवस्थापकीय सहयोगमा आँखा उपचार केन्द्र खोल्ने योजना अनुसार राप्ती गाउँपालिकाको सिसहनियाँमा सेवा सुरु गर्न लागिएको बताउनुभयो । यस्ता उपचार केन्द्र देशका विभिन्न ३२ स्थानमा खोलिसकिएको जानकारी पनि उहाँले दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास)ले तिलगंगा आँखा प्रतिष्ठानले थप उपचार केन्द्र स्थापना गर्ने योजना भए गढवा गाउँपालिका सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारी, कार्यक्रम निर्देशक नवीन कुमार राई, रवी गौतम, डा. मोहन श्रेष्ठ लगायत सहभागी हुनु भएको थियो ।

  • १६ कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech