नेपालगन्ज: सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको छ ।
कात्तिक १४ गते जिल्लाको भजनी नगरपालिकामा मरेको बंगुरको शव परीक्षणका क्रममा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको हो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले मरेको बंगुरको शव परीक्षण र र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको बताउनु भयो ।
उहाँकाअनुसार संक्रमण भए÷नभएको निश्चित गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं नमूना पठाइएकोमा रोग पुष्टि भएको छ ।
सुदूरपश्चिममै पहिलो पटक कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले अहिलेसम्म कुनै खोप नभएका कारण नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
प्रभावकारी उपचार अभावमा यो रोग फैलिएमा ठूलो आर्थिक क्षति गराउने भएकोले अस्वभाविक रुपमा बंगुर मरेमा तत्काल खबर गर्न पनि बंगुर पालक किसानहरुलाई आग्रह गरिएको छ ।
हालसम्म नेपालका करीब १० जिल्लामा देखा परेको यो रोग लागेमा बंगुरलाई १०४ देखि १०७ डिग्री सम्म ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, वान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने भएकाले सचेत रहन पनि अनुरोध गरिएको छ ।