वीरको मिर्गौला प्रत्यारोपण प्रकरण : नेपाल मेडिकल काउन्सिल थाल्यो छानबिन प्रक्रिया

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७९, सोमबार

नेपालगन्ज: बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मृगौला प्रत्यारोपण नगरेको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

वीर अस्पतालको अनुरोधपछि छानबिन प्रक्रिया अगाडि बढाइएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आइतबार काउन्सिलका सदस्य तथा काउन्सिलका इथिकल समिति संयोजक डा. कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझको लागि वीर अस्पताल पठाइएको थियो ।

‘अस्पतालले पत्र लेखेर घटनाको विषयमा अध्ययनका लागि अनुरोध गर्नुभएको थियो । हिजो डा. काउन्सिलले कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझ पठाएका थियौं,’ डा. अधिकारीले भन्नुभयो, ‘उहाँले कागजपत्र संकलन गरी लेराउनु भएको छ । अब छानबिन प्रक्रिया अगाडि बढ्छ ।’

गत बिहीबार अस्पताल प्रशासन र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि नि:शुल्क गर्ने सहमति भएको छ ।

त्यस्तै, पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यावन्यन गर्ने सहमति भएको अस्पताल प्रशासनले जनाएको छ ।

अहिलेसम्म बिरामी पक्षले भने काउन्सिलमा उजुरी दिएका छैनन् । मंगलबार धादिङकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लगि उनकी सासुको मिर्गौला झिकिएको थियो । तर दातको शरीरबाट झिकिसकेपछि उक्त मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएको अस्पतालले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणको काम युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठले गर्दै आउनु भएको थियो । उहाँहरु दुवै वीरमा मिर्गौला प्रत्यारोणका लागि अनुमति पाएका चिकित्सक हुनुहुन्छ ।

अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो देखिएको थियो । तर, निकालेर हेर्दा मिर्गौला प्रत्यारोपणका लागि योग्य थिएन’, डा. बस्नेतले भन्नुभयो, ‘केही न केही रोग छ होला । यो कुरा छानबिनमा पुष्टि होला ।’

अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहनु भएको छ ।

बिरामीका आफन्तले घटनाको जानकारी नदिएको भन्दै चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । चिकित्सकको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केहीबेरपछि मात्रै बिरामीका आफन्तले मिर्गौला प्रत्यारोपण नभएको थाहा पाएका थिए ।

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech