उपचारमा फड्को मार्दै क्यान्सर अस्पताल, विरामीलाई सहज

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७९, शनिबार

नेपालगन्जः बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न सेवा सुरु गरेको सानो समयमै ठूलो फड्को मारेको छ।

अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिबकरिब अन्त्य भएको अस्पतालले जनाएको छ।

अस्पतालले दिएको जानकारीअनुसार गत एक वर्षको अवधिमा मात्रै सो अस्पतालले ५३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब आठ सय जना शङ्कास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकिन गरिसकेको छ।

सर्जरी र हिस्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका बिरामीले सहजै उपचार सेवा पाउन थालेको जनाउँदै सो अस्पतालका अध्यक्ष टेकेन्द्र मल्लले क्यान्सर पहिचान भइसकेका बिरामीलाई औषधिमार्फत दिइने किमो सेवालाई पनि निरन्तरता दिइरहेको बताउनुभयो।

सो अस्पतालमा पछिल्ला दिनहरूमा करिब तीन सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन्। डेढ वर्षको अवधिमा नौ जना विशेषज्ञ चिकित्सक, छ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्स जनशक्ति पनि अस्पतालमा थपिएका छन्।

उक्त अस्पतालमा कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीहरूलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् भने जनरल मेडिसिन, नाक, कान, घाँटी, छाला रोग, स्त्री रोग, उपचार सेवा पनि अस्पतालले विस्तार गरिसकेको छ।

काठमाडौँको नेपाल कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगञ्ज मेडिकल कलेज, भेरी अस्पतालका स्त्री रोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्यमा क्यान्सर अस्पतालले खजुरामै दुरबिन प्रविधिबाट पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया सेवा दिन सुरु गरेको छ। गत वर्षसम्म दैनिक २०/२५ जना बिरामी आउने अस्पतालमा पछिल्ला दिनहरूमा १५० जना बिरामी आउन थालेका छन्। बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको आम्दानी पनि बढ्दै गएको छ।

मासिक एक लाख रुपियाँ आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी हाल दैनिक एक लाख पुगेको छ। अस्पतालका अध्यक्ष मल्लले अस्पतालले क्यान्सरका बिरामीको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकिथेरापी सुरु गर्ने तयारी गरिरहेको जनाउँदै माघ महिनाभित्रै ब्राकिथेरापी सुरु गर्ने अस्पतालको लक्ष्य रहेको बताउनुभयो।

उहाँका अनुसार अस्पतालले छ शय्याको आईसीयू सेवा सुरु गर्ने तयारी गरिरहेको छ। त्यसैगरी अस्पतालको शøया सङ्ख्या ४० बाट बढाएर एक सय पु-याउने लक्ष्य छ। लिन्याक मेसिनका लागि सङ्घीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चत भएर खरिदको प्रक्रिया अगाडि बढेकाले केही समयमा रेडियसनथेरापी पनि सुरु हुनेछ।

गोरखापत्र अनलाइनबाट

  • ५ कार्तिक २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech