स्तन क्यान्सरका कारण, यसका उपचार र जोगिने उपाय

    • डा.अरूण शाही/अंकोलोजिस्ट

  • ५ कार्तिक २०७९, शनिबार

हाम्रो समाज वा परिवारमा कोही न कोही स्तन क्यान्सरसँग लडिरहेकै हुन्छन्। किनकि, अधिकांश गाउँ, टोल या सहरमा यो रोग नभएको व्यक्ति भेटिन मुस्किल हुन्छ।

तथ्यांकले पनि  यसलाई थोरबहुत पुष्टि गर्छ। विश्वमा महिलामा हुने क्यान्सर मध्ये स्तनक्यान्सर पहिलो नम्बरमा छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ।

सन् २०२० को ग्लोबोक्यान (डब्लुएचओ) को तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन ६ जना महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यहीँ क्यान्सरबाट मृत्यु हुने गरेको छ।

अमेरिकी क्यान्सर सोसाइटीको तथ्यांकअनुसार प्रत्येक आठ महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी महिलाको मृत्यु स्तन क्यान्सरबाट हुने गरेको छ।

स्तन क्यान्सरविरूद्ध जागरण फैलाउने अभियानका रूपमा अक्टोबर महिनालाई लिइन्छ। यहीँ महिनामा संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अभियान चलाइन्छ। यो महिनामा मानिसले गुलाबी रंगको रिवन वा पहिरन लगाएर अभियानमा सहभागी हुन्छन्।

त्यस्तै, विभिन्न कार्यक्रम गरेर समाजका सबै महिलामा स्तन क्यान्सरको जोखिम कम गर्नेबारे सचेतना फैलाइन्छ। कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने भन्नेबारे जागरण फैलाउने अभियानको मुख्य उद्देश्य हो।

वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यहीँ कारणले हुन्छ भन्ने अझै पत्ता लागेको छैन। तर यसका केही कारणको पहिचान भएको छ।

१) महिला हुनु र बढ्दो उमेर (धेरैजसो स्तन क्यान्सर ५५ वर्षभन्दा माथिका महिलालाई हुन्छ)
२) परिवारमा कसैलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा
३) जातीय (गोरा महिलालाई धेरै)
४) स्तनको घनत्व बढ्नु
५) वंशाणुगत (परिवारमा कसैलाई भएमा)
६) सानो उमेरमा महिनावारी भए वा धेरै उमेरमा महिनावारी सुकेमा।
अन्य स्तन क्यान्सर हुनसक्ने अन्य जोखिमहरू
१) धेरै गर्भनिरोधक औषधि प्रयोग गरेमा
२) हर्मोन थेरापी धेरै लिएमा
३) ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुनुमा
४) अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गरेमा
५) धेरै मोटा महिला वा शारीरिक व्यायाम नगरेमा

स्तन क्यान्सरको जोखिम कम गर्ने उपायहरू
१) रक्सी तथा सूर्तिजन्य पदार्थबाट टाढा रहने
२) स्तनपान गराउने
३) शरीरको तौल स्वास्थ्य लेबलमा राख्ने
४) योगा, कसरत र दैनिक शारीरिक व्यायाम गर्ने र पौष्टिक खानेकुरा खाने
५) स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गरी उपचार गर्नुपर्छ।

स्तन क्यान्सरका लक्षण
१) स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु
२) स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
३) स्तन दुख्नु वा सुन्निनु
४) स्तनमा खाल्टो पर्नु
५) स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
६) शरीरको अनावश्यक तौल घट्नु

स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नुनै स्तन क्यान्सरलाई निर्मूल पार्ने अचुक अस्त्र हो।

यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गरियो भने शतप्रतिशत निर्मूल पार्न सकिन्छ। ढिलो अर्थात् स्टेज तीन वा चारमा पत्ता लागे यसलाई निको पार्न सकिदैन।

यस्तो अवस्थामा यो क्यान्सरलाई प्यालियटिभ उपचार गरी बिरामीको पीडा कम गर्न सकिन्छ।

स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गर्न दुई महत्वपूर्ण उपाय छन्।

१) आफ्नो स्तन आफैं जाँच्ने
१८ वर्ष उमेरभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफैं जाँच गर्नुपर्छ। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्नुपर्छ। स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरूको अवस्थामा थाहा पाउनुपर्छ। केही परिवर्तन भेटिएमा तुरून्त चिकित्सकको परामर्श लिनुपर्छ।

२) म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने
स्तन क्यान्सरलाई सुरूको अवस्था पत्ता लगाउन महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो।

अमेरिकी क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एक पटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स–रे हो, जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्छ।

म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स–रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यी जाँचमा स्तन क्यान्सरको शंका भए बायोप्सी गरेर स्तन क्यान्सर भए-नभएको निश्चित हुन्छ।

अन्त्यमा, वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवका आधारमा, जुन महिलाको दैनिक जीवनशैली स्वस्थ्य तथा अनुशासित हुन्छ, उनीहरूमा स्तन क्यान्सरको जोखिम अरूभन्दा न्युन हुन्छ। त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौष्टिक खानासँगै स्वस्थ्य जीवन निर्वाह गर्नुपर्छ। स्तन क्यान्सरसम्बन्धी केही शंका भए चिकित्सकको परामर्श लिनुपर्छ। उमेर पुगिसकेपछि चिकित्सकको सल्लाहबमोजिम प्रत्येक वर्षमा एकपटक म्यामोग्राफी गर्दा राम्रो हुन्छ।

  • ५ कार्तिक २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech