नेपालगन्जः सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।
सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।
कोहलपुर ल्याउने क्रममा छोरीको बाटोमै मृत्यु भएको र उहाँकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताउनुभयो ।