नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले मोतिविन्दुको समस्या भएका व्यक्तिहरुको पहिचान गर्न शुरु गरेको छ । मोतिविन्दु भएका व्यक्तिहरुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्न आजदेखि निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर शुरु गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बाट निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर शुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका र फत्तेबाल आँखा अस्पताल फुल्टेक्राको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
सहरी स्वास्थ्य केन्द्र वडा नम्बर १ धम्बोझीमा आयोजित निःशुल्क आँखा शिविरको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ । शिविरको उद्घाटन गर्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिका भित्रका नागरिक दृष्टिविहिनताको शिकार नबनुन् भन्ने उद्देश्यले २३ वटै वडामा मोतिविन्दुका रोगी पहिचान गरी निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँले शिविरमा छुटेकाहरुले फत्तेबाल आँखा अस्पतालमा गएर पनि आँखा जाँच गराउन सक्ने बताउनुभयो । नगर प्रमुख विष्टले मोतिविन्दु पहिचान भएपछि नेपालगन्ज उपमहानगरपालिका वा वडा कार्यालयको सिफारिसमा फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बताउनुभयो ।
विष्टले यो अभियान लगातार पाँच बर्षसम्म चल्ने बताउनुभयो । ‘नेपालगन्ज उपमहानगरपालिकाभित्र बसोबास गर्ने नेपाली नागरिक कोही पनि मोतिविन्दु भएर वा आर्थिक समस्याका कारण दृष्टिविहिन हुन नपरोस् भनेर हामीले यो अभियान चलाएका छौं, आँखा निकै संवेदनशील अंग हो, यसको संरक्षणमा हामी सबै गम्भीर बन्नुपर्दछ,’ उहाँले भन्नुभयो ।
फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले विश्व दृष्टि दिवसको अवसर पारेर नेपालगन्जमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा दृष्टिविहिनताका समस्या बढी देखिएको भन्दै उहाँले नेपालगन्ज उपमहानगरपालिकाले दृष्टिविहिनताको अवस्थालाई रोक्न थालेको कदममा आफूहरुले प्राविधिक सहयोग गरेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले मोतिविन्दु भएका व्यक्तिहरुलाई दृष्टिविहिनताबाट जोगाउन थालिएको अभियानमा सक्रियतापूर्वक सहभागी बन्न आह्वान गर्नुभयो । उहाँले शिविरमा निःशुल्क आँखा जाँच हुनुका साथै औषधि पनि निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
फत्तेबाल आँखा अस्पतालका नेत्र विशेष छन्दु चौधरीले यो शिविर ४० बर्ष भन्दा माथि उमेरका व्यक्तिहरुको लागि विशेष उपयोगी हुने बताउनुभयो ।
शिविर उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कुमार पुष्पा सिंह, वडा सदस्य इन्द्रबहादुर राना, स्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट राजन शाही लगायत उपस्थित रहनु भएको थियो ।