न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल देशभरीमै उत्कृष्ट

न्यूनतम कार्य सम्पादन मूल्याङ्कनमा देशभरीमै उत्कृष्ट भएपछि प्रमुख मेसु पाण्डेले खुशी हुँदै भन्नुभयो–‘यो सफलताको एउटै सुत्र हो ‘टिम बर्दिया हस्पिटल ।’


    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७९, बुधबार

नेपालगन्जः न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा बर्दिया अस्पताल देशभरीमै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल सेकेण्डरी अस्पतालहरुमा देशभरीमै उत्कृष्ट भएको हो ।

ए लेभलको यो अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डेले जानकारी दिनुभयो । अस्पतालले प्रवाह गर्ने सेवा, अस्पतालको सुशासन, पारदर्शिता लगायतलाई केन्द्रविन्दुमा राखेर विज्ञ टोलीले अनुगमनसहित अंक दिने गरेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरी, निर्देशनालयकै वरिष्ठ जनप्रशासक रोशनलाल चौधरी, मुख्य स्रोत व्यक्ति भेरी अस्पताल नेपालगन्जका नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, कपिलबस्तु अस्पताका वरिष्ठ मेसु डा किशोर बञ्जाडे, स्वास्थ्य निर्देशनालयका फोकल पर्सन कौशल भण्डारी, जनस्वास्थ्य अधिकृत विनिता काफ्ले र भेरी अस्पतालका तत्कालीन मेसु डा वीरेन्द्र बहादुर चन्द नेतृत्वको विज्ञ टोलीले अस्पतालको अनुगमन गरेको थियो ।

यस्तै ९४ अंक प्राप्त गर्दै नुवाकोटको त्रिशूली हस्पिटल दोस्रो र धादिङ हस्पिटल ९३ अंकका साथ तेस्रो भएको छ । लुम्बिनी प्रदेशका ए लेभलका १२ र बी लेभलका एउटागरी १३ वटा सेकेण्डरी अस्पताल छन् । लुम्बिनी प्रदेशमा भने पछिल्ला वर्षहरुमा न्यूनतम कार्यसम्पादन मूल्याङ्कनमा बर्दिया अस्पताल उत्कृष्ट हुँदै आएको छ । न्यूनतम कार्य सम्पादन मूल्याङ्कनमा देशभरीमै उत्कृष्ट भएपछि प्रमुख मेसु पाण्डेले खुशी हुँदै भन्नुभयो–‘यो सफलताको एउटै सुत्र हो ‘टिम बर्दिया हस्पिटल ।’

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech