नेपालगन्जः कैलालीको धनगढीमा विगत १० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन् जटिल भएको चिकित्सकले बताएका छन्।
चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आएको आशंका सेती प्रादेशिक अस्पताललले गरेको छ।
बुधबार अस्पतालले विज्ञप्ति जारी गर्दै डा केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ। त्यस्तै उनको पेटमा कडा खालको अल्सर भइ रक्तश्राव भएको आंशका समेत अस्पतालले गरेको छ।
केसीले लिखित रुपमै मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएका कारण समस्या गम्भीर भएको अस्पताल जनाएको छ। उहाँको अवस्था बिग्रिएपछि अस्पतालले विशिष्ट सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ।
अनशन बसेको दोस्रो दिनदेखि नै डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। सुरुमा धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती अस्पतालमा राखिएको हो।