नेपालगन्जः भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित हुनु हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले संबिधान दिवसको अवसरमा डा पाण्डेलाई उक्त पदक दिने घोषणा गरेको हो । यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो ।
प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।
संबिधान दिवसको दिन घोषणा गरेको उक्त पदक लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा फागुन ३ गते वितरण गर्ने छ ।
‘डा पाण्डे बिरामीको नाडीमात्र छाम्दैनन्, नीति बनाउन सघाउँछन’
नेपालगन्जका अस्पताल तथा क्लिनिकहरुमा उच्च ज्वरो भएका बिरामीहरु आइरहन्थे । ती बिरामीले चिकित्सकहरुसँग उच्च ज्वरोसँगै टाउको असाध्यैं दुख्ने गरेको लक्षण पनि सुनाउँथे । कतिपयले वान्ता हुने, पेट दुख्ने र पखला लाग्ने गरेको पनि चिकित्सकहरुलाई सुनाउँथे ।
अधिकांश चिकित्सकहरुले त्यस्ता बिरामीलाई टाइफाइडको औषधि दिएर पठाउँथे । हरेक ज्वरोलाई टाइफाइड नै ठानेर औषधि दिने यो एक हदसम्म चलिनै रहेको थियो । यस्तै लक्षण चिन्ह भएका बिरामीहरु डा. राजन पाण्डेसँग पनि आउन थाले ।
भेरी अस्पतालको ओपीडीमा बस्दा उच्च ज्वरो, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशीहरु दुख्ने, खोकी लाग्ने, कतिपयको शरीरमा रातो बिमिरा आएका त्यस्ता बिरामीहरुको डा पाण्डेले तथ्याङ्क संकलन गर्न थाल्नुभयो ।
ती बिरामीमा स्क्रब टाइफसकै जस्तो लक्षण देखिएपछि डा पाण्डेलाई बिरामीको नमूना जाँच गर्नु पर्छ भन्ने लाग्यो । तर त्यतिबेला बाँकेमा स्क्रब टाइफसको नमूना जाँच गर्ने रि–एजेन्ट नै थिएन ।
भेरी अस्पतालका मेडिकल विभाग प्रमुख एवम् सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ प्र्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले करिव आधा दशक अघिको स्मरण गर्दै भन्नुभयो–‘स्क्रब टाइफस के हो भन्ने नै नेपालगन्जका लागि नौलो थियो ।
बाँकेका कुनै पनि ल्याबमा रि–एजेन्ट नै थिएन् ।’ डा.पाण्डेकै पहलमा २०७० सालमा भेरी अस्पतालको प्रयोगशालामा स्क्रब टाइफसको परीक्षण सुरु भएको हो । हरेक ज्वरो टाइफाइड नहुन सक्दछ भन्ने कुरामा स्पष्ट रहनुभएका डा पाण्डेले बिरामीको नाडीमात्र छाम्ने काम गर्नु भएन ।
उहाँले बिरामीको हिस्ट्री अध्ययनसँगै उपचार र परामर्शमात्र हैन त्यस्लाई तथ्याङ्कमा समावेश गरेर जनस्वास्थ्य सरोकारका रुपमा लिएर राज्यको नीति निर्माण तहमा पु¥याउने काम गर्नु भएको छ । त्यसैको कारण आज चार हजार बढी सिकलसेलका बिरामीले निःशूल्क उपचार सेवा पाइरहेका छन् ।
डा पाण्डेले थारु समुदायमा रहेको बंशाणुगत सिकलसेल रोगलाई जनस्वास्थ्य समस्याकारुपमा उजागर गरिदिएकै कारण राज्यले नीतिनै बनाएर सिकलसेल रोगको निदान, उपचार र परामर्शका लागि बजेट नै बनाएको छ । संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।
डा पाण्डेले आफ्नो सम्पर्कमा आएका अधिकांश बिरामीको तथ्याङ्क राख्ने गर्नु भएको छ । उहाँसँग सयौं बिरामीका फाइलहरु छन् । सिकलसेलसँगै थालेसेमियाका बिरामीको संख्या पनि धेरै छ । बंशाणुगत यो रोगबाट उपचार गर्दागर्दा करोडौं सम्पति गुमाएका छन् ।
काठमाडौंका कर्पोरेट अस्पतालहरुमा मात्र होइन भारतका अस्पतालहरुमा पुगेर पनि रोग पहिचान नभएका त्यस्ता बिरामीको संख्या पनि धेरै छ । नेपालगन्ज उपमहानगरपालिका–५ फुलटेक्राका कुँवेर हमाल नेपालका नाम चलेका अस्पताल नपुगेको सायदै होला । उहाँ भारतका एपोलो अस्पतालपनि पुग्नुभयो । यति उपचार गर्दासम्म उहाँले बर्दिया राजापुरका अढाई विघा जग्गा विक्री गरिसक्नुभएको थियो ।
‘पाँच वर्ष अघिको स्मरण गर्दै हमालले भन्नुभयो–‘जीवनदेखि मैले हार खाइसकेको थिए ।’ हमालले पत्रपत्रिकामामा डा राजन पाण्डेबारे सुन्नु भएको रहेछ । हमाल डा पाण्डेलाई भेट्न क्लिनिकमा पुग्यो । डा पाण्डेले तत्काल सिकलसेल र थालेसेमियाको नमुना जाँच गराउनुभयो । थालेसेमिया पुष्टि भयो । सामान्य औषधि र परामर्शपछि हमाल अहिले स्वस्थ हुनुहुन्छ ।
‘सुरुमै डा पाण्डेलाई भेटेको भए सायद मेरो करोडौं सम्पति सकिने थिएन होला हमाल भन्नुहुन्छ–‘रोगै पहिचान गर्न सम्पति सक्नु पर्यो ।’ उहाँलाई अधिकांश अस्पतालमा जेन्डिस भनेर त्यसैको औषधि दिने गरिएको थियो ।
हमालमात्र होइन रोग पहिचानमा श्रीसम्पति गुमाएका बिरामीको संख्या अनगिन्ती रहेको डा पाण्डे बताउँनुहुन्छ । पश्चिम नेपालमा सिकलसेल, थालेसेमिया, स्क्रब टाइफस, डेंगी, कालाजार लगायतका रोगको पहिचान, निदान र उपचारमा डा पाण्डेको योगदान महत्वपूर्ण रहेको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको भनाइ छ ।
पूर्वी तराइका १२ जिल्ला मात्रै कालाजारको जोखिममा थिए । पश्चिम तराईमा यसको अध्ययन र अनुसन्धान हुन सकेको थिएन । त्यतिबेला नमुनानै परीक्षण नभएपछि कालाजार छ छैन पुष्टि हुने कुरा पनि भएन । डा पाण्डेको पहलमा कालाजार लक्षण चिन्ह भएका बिरामीको नमुना जाँच हुन थालेपछि यसक्षेत्रमा पनि कालाजार भएको पुष्टि भयो ।
अहिले भेरी अस्पतालमा बर्सेनि कालाजारका ३५–४० जना बिरामी आउने गरेका छन् । उनीहरुको निशुल्क उपचार हुने गरेको छ । ती बिरामीले बाटो खर्च वाफत रु दुई हजार समेत पाउने गरेका छन् भने ल्याब खर्च भनेर पाँच हजारसम्म पाउने गरेका छन् ।
लुम्बिनी प्रदेशमात्रै नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशकै ११ औं तहका एकमात्र सिनियर चिकित्सक डा पाण्डेले बिरामीको चेकजाँच र उपचारसँगै उनीहरुको अध्ययन गरी पोलेसी लेभलबाट त्यसको दीर्घकालीन समाधानको खोजी गर्ने काम गर्दै आउनुभएको छ ।
कोरोना महामारीको उपचार, निदान र परामर्शमा पनि डा पाण्डेले पोलेसी लेभलमै बसेर भूमिका निर्वाह गर्नुभएको थियो । कोभिड उपचारमा भेरी अस्पताल देशभरीमै अब्बल हुनुमा डा पाण्डेले नेतृत्व गरेको मेडिसियन विभागको भूमिका पनि दरबिलो मानिन्छ ।
डब्लुएचओ पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ समेत रहनुभएका डा पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ । रक्तजन्य रोगहरुको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ ।
अहिलेसम्म उहाँ २०७३ सालमा सम्मानिय राष्ट्रपतिबाट प्रवल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै सम्मानिय पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।