नेपालगन्ज: स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा उपचाररत प्यूठान झिमरुक- ८ कि ७ वर्षीया बालिका वर्षा थापालाई आर्थिक सहयोग जुटेको छ ।
बेलाबेलामा बेहोस हुने समस्या बालिकामा देखिएपछि वर्षालाई उपचारका लागि बालिकाको आमाले भेरी अस्पतालमा १२ दिन अघि ल्याउनु भएको थियो ।
अस्पतालहाता भित्रको प्रतीक्षालयबाट पैसासहितको ब्याग चोरी भएपछि उहाँ बिखलबन्दमा पर्नु भएको थियो । चिकित्सकले ती बालिकालाई एमआरआई गर्न सुझाएका थिए ।
तर रकम अभाव भएपछि ७ वर्षीया छोरीसहित नेपालगन्जमा भौतारिएकी उहाँ अन्ततः उपमहानगरपालिका पुग्नु भएको थियो । `
उहाँ छोरीसहित रुदै उपमहानगरपालिका आउनु भएको थियो स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले भन्नुभयो-`त्यो दु:ख देख्न नसकेर केहि आर्थिक सहयोग गरेका हौं ।´
बस्नेतको पहलमा ती बालिकालाई नगद ४ हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । नेपालगन्ज निवासी बस्नेतले १ हजार ५०, कोहलपुरका सुदन बुढाथोकीले १ हजार, कोहलपुरकै पवन वर्णवालले १ हजार १ रुपैयाँ, त्यसैगरी सुर्खेतका बिक्रम हमालले १ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
बालिकाको एमआरआई भने जीवन रक्षा डाइग्नोष्टिक सेन्टरमा निशुल्क गरिएको छ । बस्नेतको आग्रह पछि वेस्टर्न हस्पिटलका निर्देशक डा राहुल थापाले निशुल्क एमआरआई गरिदिनु भएको हो ।
बस्नेतले यसअघि पनि यस्ता मानवीय तथा सामाजिक काममा सहयोग पुर्याउँदै आउनु भएको छ ।