नेपालगन्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द हुँदा बिरामी बिचल्लीमा

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७९, आईतवार

नेपालगन्जः जानकी गाउँपालिका–६ कैलालीका ३८ वर्षीय जनक शाही सदाको आइतवर झै आज पनि डायलाइसिसका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पुग्नुभयो । तर डायलाइसिस विभाग बन्द देखेपछि उहाँ खिन्न हुनुभयो ।

स्वास्थ्य पेजको सम्पर्कमा आउनुभएका शाहीले रोदन मिश्रित आक्रोश पोख्दै भन्नुभयो–‘मृत्युको प्रतिक्षा गरिरहेको छु ।’ दुवै मृगौलाले काम गर्न छाडेपछि उहाँले विगत चार वर्षदेखि मेडिकल कलेजमा डायलाइसिस सेवा लिदै आउनुभएको छ । उहाँले हप्तामा आइतवार र बुधवार डायलाइसिस सेवा लिदै आउनु भएको छ ।

उहाँमात्र होइन बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएपछि सेवा लिने अधिकांश बिरामी जीवन र मरणको दोषाधमा रहेको दुखेसो सुनाएका छन् । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । नेपालगन्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।

स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि रकम नपठाएपछि बिरङ्गले सेवा रोकेको हो । अस्पतालका निर्देशक डा.रेशम बहादुर रानाले सेवा सुरु गराउन प्रयास भइरहेको बताउनुभयो ।

उहाँले आर्थिक कारणमात्रै नभएर केमिकल अभावका कारण पनि सेवा रोकिएको जिकिर गर्नुभयो । ‘आर्थिक कारणमात्रै होइन उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘केमिकलको अभाव छ, केमिकल आउने वित्तिकै सेवा नियमित हुन्छ ।’

बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले भने एक वर्षदेखिको करिव २ करोड भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताउनुभएको छ ।

नेपालगन्ज मेडिकल कलेजले बिरङ्ग हेल्थ केयरलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ ।

सरकारबाट प्राप्त हुने रकम बिरङ्ग हेल्थ केयरले नेपालगन्ज मेडिकल कलेजबाट पाउँछ । तर आफूहरुले १४ महिनादेखि रकम नपाएको बिरङ्ग हेल्थ केयर प्रालिका म्यानेजर शाहको दावी छ ।

 

  • १९ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech