‘मुन्ना’ जसले थन्किएको एक्स रे मेसिन संचालनमा ल्याए

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७९, मंगलवार

सायद वि.स.२०३२ साल तिर होला । नेपालगन्ज–खजुरा सडक खण्डमा एउटा मोटरसाइकल बयलगाडासँग ठोक्किएर दुर्घटनामा प¥यो । मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भए । रगताम्य अवस्थामा प्रहरीले उनीहरुलाई भेरी अस्पतालमा ल्यायो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु घाइतेको उपचारमा खटिए । बयलगाडाको काठ मोटरसाइकल चालकको छातीमा रोपिएकाले एक्स रे गर्नु पर्ने अवस्था थियो । तर भेरी अस्पतालको एक्स रे मेसिन संचालनमा थिएन् ।

चिकित्सकले विरामीका आफन्तलाई सुझाउँदै भने–‘यहाँ एक्स रे मेसिन छैन् । तपाइँको मान्छेलाई भारतको लखनउ लैजानुुस् ।’ ५० शैयाको यति ठूलो अस्पतालमा एक्स रे मेसिन चल्दैन् भनेपछि घाइतेका आफन्त रिसाए । अन्ततः ति घाइते लखनउ रिफर भए । राती करिव ८ बजेतिर इमरजेन्सीमा भएको यो घटना इर्रसाद अलि सिद्दिकी अर्थात ‘मुन्ना’ले हेरिरहनुभएको थियो । उहाँ भेरी अस्पतालमा अटो मोवाइल्स टेक्निसियनका रुपमा कार्यरत रहनुभएको थियो ।

एक्स रे मेसिन नचलेकै कारण बिरामीलाई भारत पठाउनु पर्ने बाध्यताले मन पोल्यो । मुन्नालाई रातभरी निद्रा लागेन । उहाँ भोलिपल्ट अस्पताल जानुभयो । मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सँग एक्स रे रुमको साँचो माग्नुभयो । त्यतिबेला योगेन्द्रमान सिंह प्रधान मेसु हुनुहुन्थ्यो । त्यतिबेला मेसुलाई सिविल सर्जन भनिन्थ्यो । प्रधानले साँचो दिन चाहानु भएन् । मुन्ना रेडियोग्राफर त होइन । उहाँ त अटो मोवाइल्स टेक्निसियन हुनुहुन्थ्यो । ‘एक्स रे रुम खोलेर के गर्ने ? हामीसँग एक्स रे मेसिन चलाउने जनशक्ति छैन’–मेसु प्रधानले भन्नुभयो । ‘रुम त हे¥यौं’–मुन्नाले जोडबल गर्नुभयो । अन्य चिकित्सकहरुले भने उहाँलाई साथ दिनुभयो ।

एक्स रे रुमको ढोका खोलियो । एक्स रे मेसिन कहिले जडान भयो ? कसले जडान ग¥यो ? कहिलेसम्म चल्यो ? कसैलाई थाहा थिएन । एक्स रे मेसिन धुलाम्य । माकुराको जालो । मुन्ना सम्झनुहुन्छ–‘एक्स रे रुम सफाई गर्न मात्रै करिव एक हप्ता लागेको हो ।’ एक्स रे मेसिनका ताराहरु मुसाले काटेर टुक्रा–टुक्रा पारेको थियो । सुरुमा उहाँले तिनै तारहरु जोड्नु भयो । मुसाले तार काटेर पुरै लथालिङ पारिदिएको थियो । कसरी जोड्ने ? एकछिन अलमलमा पर्नुभयोे । उहाँले एकछिन काटिएका तारहरुलाई नियाल्नुभयो । र, रातो तार काटिएको छ भने रातैसँग जोड्न थाल्नुभयो भने । कालो तार काटिएको छ भने कालै तारसँग जोड्दै जानुभयो ।

मुन्नाले त्यहाँ एउटा सिलिप भेट्नुभयो । त्यसमा एक्स रे मेसिन कसरी चलाउने भन्ने कुरा विस्तृतमा लेखिएको थियो । त्यही हेर्दै उहाँले एक्स रे मेसिन चलाउने प्रयास गर्नुभयो । संयोग एक्स रे मेसिन चल्यो । मेसिन सुचारुमात्र भएन सहि रिपोर्ट दिन थाल्यो । मुन्ना खुसीले बुर्कुसी मार्दै मेसु प्रधानको कार्यकक्षमा हान्निनुभयो । प्रधानले स्याबास् मुन्ना भन्दै बधाई दिनुभयो । भेरी अस्पतालमा करिव १८ वर्ष जागिरे जिवन विताउनु भएका मुन्नालाई सबैभन्दा खुसी र आनन्द यही कुरामा लाग्छ जहाँ उहाँले थन्किएको एक्स रे मेसिन संचालनमा ल्याएर यस क्षेत्रका बिरामीलाई सेवा दिन सफल हुनुभएको थियो । नत्र एक्स रे गर्नकै लागि बिरामीलाई लखनउ पठाउनु पर्ने बाध्यता थियो ।

‘मेसिन जडान भए पनि जनशक्ति नभएका कारण वर्षौदेखि एक्स रे बन्द अवस्थामा थियो उहाँले भन्नुभयोे–‘मेरो पहलमा बन्द रहेको एक्स रे मेसिन सुरु भयो । अहिलेसम्म पनि नियमित छ यो भन्दा खुसी र सम्झन लायक कुरा अरु के हुन सक्छ ?’ मुन्नाले लामै समयसम्म एक्स रे मेसिन चलाउनुभयो । किनकी यहाँ रेडियोग्राफर आउने र जाने क्रम चलिरहन्थ्यो । केही समस्या बस्ने र फेरी गइहाल्ने गरेका कारण मुन्नाले एक्स रे मेसिन लामै समय सम्म चलाउनुभयो । यहाँसम्मकी उहाँले जुम्ला र प्यूठान अस्पतालमा एक्स रे मेसिन नै जडान गर्नुभयो । वि.स ३०३१ सालमा भेरी अस्पतालमा नायव सुब्बाकारुपमा जागिरे बनेर प्रवेश गर्नुभएका उहाँ वि.स २०४९ सालमा सेवा निवृत्त हुनुभयो ।

८० वर्षमा प्रवेशरत उहाँलाई अझैपनि भेरी अस्पतालप्रतिको माया असाध्यै छ । उहाँँग काम गरेका हाकिम तथा सहकर्मी साथीहरु छैनन् । तर भेरी अस्पताल अझैपनि उहाँको मानसपटलमा घुमिरहेको छ । उहाँ भन्नुहुन्छ–‘करिव १० वर्ष भयो भेरी अस्पताल भित्र छिरेको छैन तर अस्पताल अत्याधुनिक र सुविधा सम्पन्न बन्दै गएको छ भनेको सुन्दा एकदमै खुसी लाग्छ ।’ वि.स २०६९ सालमा विनोद खेतान मेसु हुँदासम्म उहाँ भेरी अस्पताल जाने–आउने गर्नुभएको थियो । त्यसपछि भने जानु भएको छैन । मुन्नाले जान पहिचानका व्यक्तिहरु भेटिए अस्पतालको बारेमा जानकारी लिने गर्नु हुन्छ । ‘अस्पताल धेरै फेरिएको छ भन्न सुनेको छु उहाँले भन्नुभयो–‘कहिलेकाही त्यहींबाटो भएर हिड्दा भौतिक संरचना राम्रो बन्दै गरेको देख्छु एकदमै खुसी लाग्छ ।’ टेक्नोलोजीको विकाससँगै अस्पतालले प्रवाह गर्ने सेवालाई पनि प्रविधिमैत्री बनाउन आवश्यक देख्नुहुन्छ मुन्ना ।

‘विगतमा त प्रविधि नै कहाँ थियो र ? उहाँ अगाडि थप्नु हुन्छ–‘एउटा रिपोर्टकै लागि हप्ता–पन्ध्र दिन प्रतिक्षा गर्नु पथ्र्यो ।’ अस्पतालमा विरामी प्रवेश गर्ना साथ आधा रोग ठिक भएको महसुस हुने खालको वातावरण र त्यहीं खालको सेवा हुनुपर्नेमा उहाँको जोड छ । त्यसैले त उहाँले अस्पतालभित्रको गार्डेनलाई व्यवस्थित बनाउने काम गर्नुभएको थियो । अस्पतालमा पिपलको रुख थियो । गार्डेन व्यवस्थित थिएन । उहाँ आफै खटिएर अस्पतालको गार्डेनलाई व्यवस्थित बनाउनुभयो । त्यसको एउटै कारण थियो कम्तिमा बिरामी अस्पताल प्रवेश गर्ने वित्तिकै त्यो गार्डेन हेर्दै आनन्दित महसुस गरुन र आधा रोग त्यसै ठिक होस् ।

‘भेरी अस्पताल राम्रोसँग चलोस् उहाँ भन्नुहुन्छ–कुनै पनि बिरामी अस्पतालमा आइसकेपछि बाहिर पठाउनु पर्ने अवस्था नआवस् मेरो चाहना यति मात्रै हो ।’ करिव डेढ घण्टासम्म अन्तरङ्ग कुराकानी पछि छुट्टिने बेला उहाँले भन्नुभयो–‘भेरी अस्पताललाई अव प्रविधिसँग जोड्नु पर्छ । पर्चाका लागि घण्टौं लाइन लाग्ने र बिरामीले दुःख पाउने समस्या समाधान गरिनु पर्छ । अस्पतालको सेवालाई छिटोछरितो र प्रभावकारी गराउनु पर्छ । यती गरे भेरी अस्पतालको गरिमा उचो भइरहने छ । र, विरामीको आशा र भरोसा कायमै रहने छ ।’

अक्सिजन स्मारिकाबाट

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech