हाम्रो स्वास्थ्य प्रणाली गए गज्रिएकै होत ?

    • मौनता अर्याल /स्टाफ नर्स

  • ३० श्रावण २०७९, सोमबार

स्वास्थ्य हरेक मानवको आधारभूत आवश्यकता हो । स्वस्थ भएर बाँच्न पाउने उसको नैसर्गिक अधिकार पनि हो । तर यति हुदाहुँदै पनि विश्वमा आधि भन्दा बढी मानिस आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित रहेका छन् । करिव सय विलियन भन्दाबढी मानिस स्वास्थ्य उपचारमा गरिने खर्चले गरिवीको रेखा मुनि धकेलिएका छन् ।

विश्वभरी स्वास्थ्यको एउटै मूल उद्देश्य छ, स्वास्थ्य सबैको लागि समान हुनुपर्दछ । स्वास्थ्य सेवा सबैले पाउनुपर्छ । चाहे त्यो गरिव होस् वा धनी । वृद्ध होस् वा बालक । त्यसैले सबै मानिसले सहज र समान ढंगबाट स्वास्थ्य सेवा पाउनु पर्छ । स्वास्थ्य एक धर्म हो । न यसले जात छुट्याउँछ न लिङ्ग, न त यसले कुनै वर्ण छुट्याउँछ ।

यहि उद्देश्यले इ.स १९७७ मा World Health Assembly ले   Health for All कार्यक्रम ल्यायो । जस्लाई इ.स.१९८१ मा WHO ले सहयोग गर्‍यो । जस्को लक्ष्य इ.स. २००० सम्म समाजमा रहेको सबैलाई विना भेदभाव स्वास्थ्य सेवाको पहुँच पुर्याउनु थियो ।

स्वास्थ्य सेवा सुन्दा जति सरल सुनिन्छ त्यसको पहुँच त्यतिकै जटिल छ । अस्पतालको ओपिडीमा घन्टौ लाइन लागिरहँदा, ल्याबको रिपोर्ट लिदा खल्तीबाट मुठ्ठिभरी पैसा निकल्दै गर्दा, सायद सबैको मनमा एउटै प्रश्न आउछ होला ? नेपालभन्दा अरु विकसित मुलुकको नागरिक भएर जन्मिएको भए यस्तो झेल्न पर्दैनथ्यो कि ? के अन्य पूर्वधारको विकास र स्वास्थ्य क्षेत्रको विकास र पहुँच एकै हुन त ? विकसित देश हुँदैमा स्वास्थ्य सेवा, स्वस्थ्य प्रणाली व्यवस्थित र पहुँचिलो हुने होर ?

आज बिश्वकै धनी देशको रुपमा रहेको नर्वे पनि Health Care Index अनुसार १५ औ स्थानमा रहेको छ। विकसित मुलुक संयुक्त राज्य अमेरिका र क्युबाको तुलना कुरा गर्ने हो भने क्युबाको स्वास्थ्य प्रणाली र पहुँच अमेरिकाको भन्दा राम्रो छ।

कुनै पनि देशको स्वास्थ्यको पहुँच र समानता एक मुख्य पाटो हो । हाम्रो देश एक विकासोन्मुख देश हो । र, यहाँ पनि बिश्वको प्राय देशहरु जस्तै स्वास्थ्य खर्च जनताले आफ्नै खल्तीबाट तिर्नु पर्छ जस्लाई Out of pocket model भनिन्छ । जुन बिश्वभरिमा सबैभन्दा बढी प्रयोग हुन्छ।

यसरी खल्तिबाट पैसा तिर्नुपर्छ भनिराख्दा धेरैलाई लाग्छ होला यस्तो अवस्था कुनै कुनै देशमा मात्रै होला  । तर, त्यसो होईन । बिश्वमा रहेका २०० भन्दा बढी देशहरुमा ४० वटा मात्रै देशहरू छन । जहाँ एक ब्यवस्थित स्वास्थ्य प्रणाली बनेको छ । बाँकी देशहरुमा हाम्रो जस्तै तरिकाले उपचारको खर्चहरु ब्यवस्थापन हुने गर्दछ ।

यसबाहेक पनि हाम्रो देशमा जनतालाई अझ सुलभ स्वास्थ्य सेवा पाउनको लागि विभिन्न मोडेलहरु अबलम्बन गर्दै विभिन्न एकाइहरु स्थापना गरिएको छ। हाम्रो देशमा  Beveridge model अबलम्बन गर्दै सामाजिक सेवा एकाइ(SSU) पनि  स्थापना गरिएको छ । जस्ले अत्यन्त कमजोर आर्थिक अवस्था भएकालाई स्वास्थ्य उपचार खर्चमा सहयोग गर्ने गर्दछ ।

त्यसैगरी National Health insurance मोडेल अबलम्बन गर्दै २.५ बर्ष अगाडि नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्यायो। हाम्रो देशको स्वास्थ्य बीमा कार्यक्रम बिश्वभरिमै एक राम्रो बीमा कार्यक्रममा पर्दछ  । किनकी यस बीमाले सबै कुरा (उपचार, ल्याब, औषधि) समेट्छ जुन सबै देशहरुको बीमामा हुदैन।

जस्तै  Health care index 2021 अनुसार  ६ औ स्थानमा पर्ने अस्ट्रेलियाको बीमाले सबै कुराहरु समेट्छ तर त्यसमा औषधि भने पर्दैन । जस्ले गर्दा औषधिको लागि भारी रकम तिर्नुपर्ने हुन्छ।विकसित मुलुकहरु जहाँ एक ब्यवस्थित स्वास्थ्य प्रणाली बनेका छन त्यहाँ पनि जनताहरु मारमा नपर्ने भने होइन् । हामीलाई लाग्छ, विकसित मुलुकहरु जहाँ स्वास्थ्य बीमा हुन्छन त्यहाँ त जनताहरुलाइ केही समस्याहरु हुदैन होला ।

जस्तै संयुक्त राज्य अमेरिका एक विकसित मुलुक हो । तर, त्यहाँ स्वास्थ्य बीमा नभएका जनताहरु पनि छन । जो बिरामी भए भने उपचारको लागि खल्ती रितिक्छ तर रोग सन्चो हुदैन । स्वास्थ्य बीमा भएकाहरुमा पनि विभिन्न बीमा कम्पनीहरुको नियम र सर्तहरुले गर्दा अन्त्यमा जनतालाई नै मार पर्छ।

अव अर्को पाटो, कस्तो छ उपचार प्रक्रिया ?

बिश्वमा २०० भन्दा बढी देशहरु छन । हरेकको स्वास्थ्य सेवा लिने तरिका र प्रणाली फरक-फरक छ। प्राय  विकसित मुलुकहरु जस्को स्वास्थ्य प्रणाली,  उदाहरणका लागि UK, Australia etc ती देशहरुमा कसैलाई केही समस्या भएमा सबैभन्दा पहिले GP (General Practioner) कहाँ बिरामीहरु जाने गर्छन् ।

त्यहाँ ठिक नभएको खण्डमा मात्र अस्पताल अथवा विशेषज्ञ(consultant doctor) को मा जाने गरिन्छ । किनकी यो त्यहाँको नीतिगत व्यवस्था हो । सिँधै विशेषज्ञसँग भेट्छु  भन्न पाइदैन । यस्को मतलब विशेषज्ञसम्मको पहुँच त्यति सजिलो छैन । हाम्रो देशमा भने मनले चाहेको विशेषज्ञहरुसँग एक पुँजी लिएर जुनसुकै बेलामा पनि स्वास्थ्य उपचार गराउन सकिन्छ । देशको स्वास्थ्य सेवाको  ढाँचा Health Care Index 2021 अनुसार पहिलो नम्बरमा परेको रास्ट्र दक्षिण कोरियासँग मिल्न जान्छ।

यसले गर्दा GP(General Practioner) को सहायताले अस्पतालमा जटिल र कम बिरामीहरु मात्रै जाने भए । जस्ले गर्दा अस्पतालमा बिरामीको चाप कम हुन्छ । सेवा लिन सजिलो हुन्छ ।  तर हाम्रो देशमा भएको तरिकाले जनतालाई स्वास्थ्य सेवाको सन्तुष्टि भने धेरै मिल्छ। यहि बिरामीको/ जनतामा हुने स्वास्थ्य सेवाको सन्तुष्टि र स्वास्थ्य खर्चलाई मुख्य आधार बनाउँदै हामी स्वास्थ्य पर्यटनलाई पनि प्रर्बधन गर्न सक्छौं।

अहिले पनि विकसित मुलुकमा होस् या खाडि मुलुकमा गएका नेपालीहरु स्वास्थ्यमा समस्या हुने बित्तिकै उपचार गराउन नेपाल आउने गर्दछन् । नेपाली मात्र होइन बिदेशी नागरिकहरु पनि स्वास्थ्य उपचार गर्न नेपालमा आउने गर्दछन् ।

हामीलाई लाग्छ, हाम्रो देशको स्वास्थ्य प्रणाली र स्वास्थ्य व्यवस्था विश्वमै गए गुज्रिएकै होला । तर, त्यसो होइन् ।  हेल्थ केयर इन्डेक्स २०२१ अनुसार पनि हाम्रो देश ६१ औं स्थानमा पर्दछ । संवैधानिक रूपमा स्वास्थ्यलाई हेर्ने हो भने नेपालको संविधान, २०७२ को प्रस्तावनामा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ ।

संविधानको धारा ३५ मा मौलिकहकको रूपमा स्वास्थ्य सम्बन्धी हक राखिएको छ । जसमा प्रत्येक नेपाली नागरिकले निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ । त्यस्तै कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनिएको छ ।

संविधानकै धारा ५१ को (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति, जसको बुँदा नं. ६ मा ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने’ भनिएको छ ।  पछिल्ला केही वर्षहरुको बजेट तथ्याङ्क हेर्ने हो भने बार्षिक बृद्धिदर देखिन्छ । आर्थिक वर्ष २०७९-८० मा स्वास्थ्यतर्फ ५% वजेट विनियोजना गरिएको छ । पन्ध्रौं पन्चवर्षिय योजनामा  स्वास्थ्यको वजेट ८% बनाउने लक्ष्य रहेको छ ।

हामी जति गए गुज्रिएको आफ्नो स्वास्थ्य प्रणाली सोच्छौ, त्यो भने होइन । बर्तमान स्वास्थ्य संस्थाहरुको गुणस्तरीयता अभिबृदी र सुदृढीकरण  उत्पादित जनशक्तिको ब्यवस्थापन, औषधिको मर्यादित  ब्यवस्थापन, स्वास्थ्यकर्मीहरुको सुरक्षा र मनोबल, र बनाएका नीतिहरुको कार्यान्वयनमा मात्र ध्यान दिन सक्यौ भने हाम्रो देशको स्वास्थ्य प्रणालीले फड्को मार्नेछ।

हाम्रो देशको बजेटदेखि लिएर नियम कानुन सम्ममा समस्या छैन । बिनियोजित बजेटको सहि ठाँउमा उपयोग हुन सकेको छैन । विनियोजित बजेटको आधी हिस्सा त बाटोमै हराउँछ । बल्लतल्ल पुगेको बजेट पनि कतै कम हुन्छ भने कतै कुनै शिर्षकलाई नै छुदै छुदैन् ।

हामी देशको राजनीति चलाउनदेखि लिएर एउटा अस्पताल चलाउन सम्म कागजमा लेख्न र लेखेको कागज राख्न मात्रै समय खर्चिन्छौं । जवकी समय खर्चिने भनेको त्यो लेखेको कुरालाई अबलम्बन गर्नुमा हो । हामी नियम कानुन बनाउनमा ७ दिन खर्चिन सक्छौ  । तर उक्त नियम अबलम्बन भैरहेको छ कि छैन ? भन्ने कुरा हेर्नको लागि ३ दिन दिन पनि प्रतिक्षा गर्न सक्दैनौं ।  हामी ठूलठूला उपकरणहरु किन्नको लागि चेकमा हस्ताक्षर गर्न  सेकेन्ड लाउदैनौ तर ती उपकरणहरु आइसकेपनि त्यसलाई कसरी संचालन गर्ने भन्नेबारेमा महिनौं समय खर्चिरहेका हुन्छौ ।

हामी महिनामा १० वटा मिटिङमा १० घन्टा समय गुर्जान तयार छौं । तर, वार्डमा समस्या बुझ्न जादा २० पटक घडी हेछौं । हामी  माथिल्लो स्तरमा बसेर नियम कानुन पुग्नेगरि बनाउछौ । तर तल्लो स्तरमा रहेकालाई  गधालाई जसरी कामको भारी बोकाउँछौं । निरीक्षण, निगरानी र अनुगमनको पाटो त सायदै होला ।

निरीक्षण, निगरानी र अनुगमन भनेको यस्तो पक्ष हो, जसको अभावमा  सोचेको परिणाम आउँन सक्दैन।  हरेक संस्थाका कर्मचारीहरुलार्इ चाहे त्यो अस्पताल नै किन नहोस् । मनमा एक खालको डर, त्रास र आफ्नो पेशाप्रतिको बोध हुन आवश्यक छ । तर त्यसका लागि खवरदारी आवश्यक छ । खवरदारी गर्ने भनेकै निगरानी र अनुगमनलाई प्रभावकारी गराउनु हो ।

त्यसमाथि स्वास्थ्य एक अत्यन्तै संवेदनशिल क्षेत्र हो । जहाँ हामीले हरेक तहका कर्मचारीहरु मानवको संवेदनासँग जुधिरहेका हुन्छौं । यो जुधाइलाई सार्थकता दिन आफ्नो पेशाप्रतिको इमान्दारितालाई पनि भुल्न हुँदैन भन्ने लाग्छ ।

हामीसँग सामान थिएन, सामान आयो । हामीसँग प्रविधि थिएन, प्रविधि आयो । तर गुणस्तर भने पहिलाको जस्तै । त्यसैले हाम्रो समस्या भनेकै व्यवस्थापनमा हो । नत्र त माग फारको चाङ हरेक शाखामा उत्तिकै छ ।

एक सबल स्वास्थ्य प्रणाली तब सफल हुन्छ । जब एक स्वास्थ्य संस्था विभिन्न अनावश्यक राजनीतिक चलखेल र बिकृतीहरुबाट  स्वतन्त्र हुन्छ  । त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुमा High level of motivation हुन्छ । जस्ले स्वास्थ्यकर्मीहरुलार्इ स्वास्थ्य सस्थाप्रति प्रतिबद्धता गराउँछ । आफुले दिने सेवाप्रति इमानदारिता र लगनशिलता प्रदान गर्छ । स्वास्थ्य सेवा एक टिम वोर्क हो। एक स्वास्थ्य संस्थामा विभिन्न प्रोफेसन स्वास्थ्यकर्मीहरु हुन्छन् ।  हरेक विभाग अन्तर सम्बन्धित छन । आ-आफ्नो ठाँउमा महत्त्वपूर्ण छन्।

एक बिरामी एउटा समस्या लिएर अस्पताल आइसकेपछि ती सबैको teamwork आवश्यकता हुन्छ ।  ल्याब रिपोर्ट र रेडियोलोजि   नभै  Diagnose गर्न सकिँदैन । Diagnosis भैसकेपछि नर्सिङ केयर नभई बिरामी सन्चो हुन सक्दैन। त्यसकारण एक स्वास्थ्य संस्थामा हरेकले एक प्रोफेसनले अर्कोलाई  सम्मान गर्न आवश्यक छ । जस्ले  टिमवोर्क बढाउँछ उसले सेवाको गुणस्तरलाई सुदृढ गर्दछ ।

जुन दिन हरेक स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरु माथिल्लो तहदेखि तल्लो तहसम्मको ले जागिर मात्र गर्न आएको भन्ने सोच छाडेर स्वास्थ्य सेवा मेरो कर्तव्य र जिम्मेवारी हो । मैले मेरो संस्थालाई र मेरो कामलाई हिजो भन्दा आज अझ राम्रो बनाउन पर्छ भन्ने सोच राख्दछ तव मात्रै हामीले बिश्वको स्वास्थ्य जगतमा छुट्टै पहिचान राख्न सक्छौ ।

  • ३० श्रावण २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech