बाजुरामा विशेषज्ञ चिकित्सकको अभाव

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७९, आईतवार

नेपालगन्ज: बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उहाँका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो ।

अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उहाँलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक चिकित्सकले वताउनुभयो ।

सुजाता मात्र होइन, एमडीजीपीको नभएकै कारण अरु बिरामीले पनि सामान्य शल्यक्रिया वा विशेषज्ञ सेवाका लागि जिल्ला बाहिर जानु पर्ने स्थिति छ ।

सामान्य घाउदेखि हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले वताउनुभयो ।

निक साइमन्स इन्स्टिच्युटसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा पठाएका एमडीजीपी चिकित्सक डा. दुर्गा महर्जन फिर्ता भएपछि ३ वर्षदेखि बाजुरा एमडीजीपी डाक्टर विहीन छ । तीन वर्षसम्ममा पनि मन्त्रालयले अर्को डाक्टर पठाएको छैन ।

महर्जन हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान हुने गरेको थियो । तीन वर्षदेखि यी कुनै पनि रोगको बाजुरामा उपचार नभएको अस्पतालले जनाएको छ ।

बझाङ पठाइएका एमडीजीपी डाक्टर अन्वेष कोइराला जिल्ला अस्पताल बाजुरामा जान तयार हुनु हुन्छ । यसका लागि उनले मन्त्रालयमा निवेदन समेत दिनुभएको छ।

उहाँले निवेदनमा लेख्नु भएको छ – ‘बझाङ जिल्ला अस्पतालमा दुईजना एमडी (विशेषज्ञ) डाक्टर रहेकाले अभाव भएको बाजुरामा सेवा गर्न अनुमति दिन अनुरोध गर्दछु ।’

अस्पताल व्यवस्थापन समितिले उहाँलाई जिल्ला अस्पताल बाजुरा सरुवा गरिदिन मन्त्रालयलाई अनुरोध समेत गरेको छ ।

तर स्वास्थ्य मन्त्रालयले त्यसमा कुनै पहल गरेको छैन । स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले बाजुरामा बिस्तारै एमडीजीपी डाक्टर पठाउने बताउनु भयो ।

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech