नेपालगन्जः सामाजिक सेवा एकाई संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हक अन्तर्गत राखेको छ ।
सरकारले संविधानको भावना समेतलाई दृष्टिगत गरी निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम अन्तर्गत माघ ०६५ देखि २५ शैयासम्मका अस्पतालहरूमा आम नागरिकलाई सूचीकृत अत्यावश्यक औषधि निःशुल्क प्रदान गर्न सुरू गरेको छ । साथै लक्षित समूहका बिरामीलाई अत्यावश्यक औषधि तथा अन्तरङ्ग, बहिङ्ग, र आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ ।
सरकारले सशर्त र निःशुल्क औषधिका लागि अनुदान रकम उपलब्ध गराई सो रकमवाट लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशीक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रावधान अनुसार यस अस्पतालले सेवा उपलब्ध गराउदै आएको छ ।
स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाई स्थापना गराई १२ वटा लक्षित समूहका बिरामीलाई औचित्य हेरी निःशुल्क वा आंशीक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने प्रावधान स्पष्ट रूपमा तोकेर २०६९ बाट भेरी अस्पतालमा सामाजिक सेवा एकाई स्थापना गरेको हो । विपन्न उपचार कोष भने २०७२ सालबाट सुरु भएको हो ।
यस सामाजिक सेवा एकाईले देहाय बमोजिमका बिरामीलाई सहुलियत,स्वास्थ्य सेवा व्यवस्थित, पारदर्शी र प्रभावकारी तवरवाट प्रवाह गर्दै आएको छ ।
१- १२ वटा लक्षित समूहका बिरामीहरु
-गरिब
-असहाय
-अपाङ्गता भएका व्यक्ति
– ज्येष्ठ नागरिक
– लैङ्गिक हिंसापीडित (बालबालिका समेत)
-महिला स्वास्थ्य स्वयंसेविका
-प्राकृतिक प्रकोपबाट पीडित (भूकम्प, बाढी, पहिरो, आगलागी आदि)
– शहिद परिवार
-कुपोषित बालबालिका
-प्रहरीले ल्याएका थुनुवा र कैदीबन्दी
– दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएका, गरिवी र विपन्न)
-सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाती
सुविधा पाउने प्रक्रिया
सामाजिक विकास एकाइ सेवा प्राप्त गर्नका लागि परिचपत्रलाई आधार मानिएको छ । त्यस्तै परिचयपत्र नहुँनेको हकमा गाउँपालिका, नगरपालिका वा उपमहानगरपालिकाको सिफारिसको आधारमा सेवा दिने गरिएको छ ।
यदी यो पनि सम्भव छैन भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको सिफारिसको र बिरामीको अवस्था मूल्यांकनको आधारमा छुटको व्यवस्था गरिएको छ । अपांगता भएका व्यक्तिको हकमा उनीहरुको परिचयपत्रको आधारमा ‘क’ वर्गलाई निःशूल्क, ‘ख’ वर्गलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
यस्तै जेष्ठ नागरिक (६०–६९) बर्ष उमेर समूहकालाई ५० प्रतिशत, ७० देखि ७९ बर्षसम्मका शारीरिक असक्तता, दीर्घरोगी र अािर्थक स्थितको मूल्यांकनका आधारमा ७५ प्रतिशत निःशूल्क र ८० बर्षदेखि ८४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई तोकिए बमोजिम निःशूल्क र ८४ बर्षदेखि माथिका सबैलाई सबै खाले सुविधा निःशूल्क उपलब्ध गराउने गरिएको छ । तर त्यसका लागि बीमा भएमा बीमाबाट नभएको खण्डमा मात्रै यो सुविधा उपलब्ध गराउने गरिएको छ ।
लैङ्गीक हिंसामा परेका व्यक्तिलाई आवश्यक सबै स्वास्थ्य उपचार निःशूल्क हुने व्यवस्था छ । गरीव तथा विपन्न आकास्मिक बिरामीलाई सामाजिक सेवा एकाइबाट प्रारम्भिक स्वास्थ्य सेवा निःशूल्क हुने व्यवस्था छ । बिपद एवम प्राकृतिक प्रकोप पीडित व्यक्तिहरुलाई प्रकोप कायम रहेसम्म आकास्मिक तथा अन्य स्वास्थ्य उपचार सेवा निःशूल्क हुने व्यवस्था छ ।
सीमान्कृत तथा लोपोन्मुख आदीबासी जनजातीका रुपमा सूचिकृत गरेका समुदाय तथा स्थानीय परिवेश अनुसार गरीव तथा विपन्नताका आधारमा स्वास्थ्य सेवा निःशूल्क, महिला स्वास्थ्य स्वयमसेविकाको हकमा वडाहरुमा कार्यरत परिचयपत्र पाएका बाहलवाला व्यक्तिलाई तोकिए बजोजिमको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
कुपोषित बालबालिका, पोषण पुनःस्थापना केन्द्रमा भर्ना भएका बालबालिकालाई स्वास्थ्य सेवा निःशूल्क रुपमा उपलब्ध गराइन्छ । प्रहरीले ल्याएका थुनुवा तथा कैदीबन्दी बिरामीहरुलाई कारागारमा रहेको समयमा बिरामी भएमा प्रारम्भिक चरणको स्वास्थ्य उपचार सेवा निःशूल्क रुपमा उपलब्ध गराइन्छ । यस्तै शहिद परिवारको हकमा नेपाल सरकारले प्रदान गरेको परिचयपत्रका आधारमा स्वास्थ्य सेवामा छुट प्रदान गरिन्छ ।
२. जनआन्दोलन र शसस्त्र द्धन्द, मधेश आन्दोलनका घाइतेहरू
३. विपन्न नागरिक औषधोपचार कार्यक्रम अन्तर्गत रू एक लाख सम्म सहुलियत पाउने अलजाइमर्स, हेड एण्डर स्पाइनल इन्जिुरी, मुटुरोग, क्यान्सर, सिकलसेल एनिमिया, रेनल फेलर, पार्किसन्स, स्ट्रोकका बिरामी । तिमध्ये भेरी अस्पतालबाट क्यान्सर र स्ट्रोकलाई भने यो सेवा उपलब्ध गराइएको छैन ।
सामाजिक सेवा एकाई अस्पतालमा उपलव्ध सेवा तोकिएका लक्षित वर्गका बिरामीलाई निःशुल्क वा सहुलियत रूपमा उपलब्ध गराउन सहजीकरण गर्ने संस्थागत व्यवस्था हो । लक्षित समुहका बिरामीहरूको स्वास्थ्य सेवामा समतामुलक पहुँच एवं उपयोग अभिवृद्धि गर्दै बिरामीहरूलाई निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरू यस अस्पतालले पनि प्रदान गर्दै आएको छ, जसले गरिव वर्गको स्वास्थ्य सेवामा पहुँचका साथै विभिन्न अस्पतालहरूबीच रहेको प्रेषण सेवालाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन समेत सहयोग पुगेको छ ।
यस भेरी अस्पतालले माथि उल्लेखित लक्षित समुहका बिरामीलाई उनीहरूको आर्थिक अवस्थाको मुल्यांकन वा परिचय पत्रका आधारमा पहिचान गरी निःशुल्क वा आर्थिक छुट सेवा प्रदान गर्दै आएको छ । जसका लागि बिरामीले अस्पतालमा नाम दर्ता गरेपछि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम प्रेस्कृप्सन कागज, परिचय पत्रको प्रतिलिपी (लक्षित वर्ग खुल्ने) सहित भेरी अस्पतालको ओपिडी नजिकै सामाजिक सेवा एकाईमा गई तोकिएको अनुसूची फारम भरेर काउन्टरमा गई सहुलियतको बिल प्राप्त गर्न सक्छन् भने औषधिको लागि फारम भराई अस्पताल फार्मेसीबाट सेवा पाउन सक्छन् ।
लक्षित समुहका बिरामीलाई यस एकाईले बहिरङ्ग र इमर्जेन्सीमा बढीमा २५ सयसम्मको र अन्तरंगका बिरामीलाई बढीमा १० हजारसम्मको उपचार सेवामा छुट सुविधा प्रदान गर्छ ।सामाजिक सेवा एकाई स्थापना तथा सञ्चालन निर्देशिका २०६९ (परिमार्जित २०७४) वमोजिम भएको संस्थागत व्यवस्था अन्तर्गत रहेको सामाजिक सेवा एकाई व्यवस्थापन समितिले आवश्यकता र औचित्यका आधारमा माथि उल्लेखित रकम भन्दा बढीको सहुलियत समेत प्रदान गर्दै आएको छ ।
विपन्न बिरामीको हकमा ज्येष्ठ नागरिक, अपाङ्गता, कमजोर आर्थिक सामाजिक अवस्था भएका बिरामीलाई प्राथमिकता दिने गरिएको छ ।