संसारभरी करिव ३०० प्रजातिका सर्पहरु पाइएपनि नेपालमा भने ७७ देखि ९० प्रजातिसम्म उल्लेख गरिएको पाइएको छ । नेपालमा पाइने सर्पहरु मध्ये २१ प्रजातिका सर्पमात्रै बिषालु छन् ।
वर्षायाममा तराईका सबै भू–भागमा सर्प पाइए पनि गर्मी ठाउँ सर्पलाई मन पर्ने हुँदा तराई क्षेत्रमा सर्पको बिगबिगी बढ्ता हुन्छ । वर्षा लागे पछि सर्पको टोकाईका कारण मृत्यु भएका समाचारहरु निकै सुन्ने गरिन्छ । नेपालको बाहिरी तथा भित्री मधेशका ३१ जिल्लाहरु विषालु सर्पको टोकाईबाट बढी प्रभावित भएका जिल्लाहरु हुन् । नेपालमा पाइने सर्पहरूलाई साधारणतया इलापीडी र भाइपीरीडी गरेर दुई समूहमा वर्गीकरण गरिएको छ ।
जसमध्ये कोब्रा (गोमन), करेत (सेतो कालो चुरे सर्प), भाईपर (बाघ सर्प), हरेउ जस्ता सर्पहरू बिषालु सर्प हुन् । बिषालु सर्पले टोकेपनि सबैले बिष छाडेको हुदैनन्, जसलाई ड्राई बाइट भनिने गरिन्छ । त्यसैले सर्पले टोक्ने बित्तिकै ज्यान गैहाल्छ भनेर डराउनु पर्दैन ।
नेपालमा वर्सेनि १२ देखि २० हजार मानिसलाई सर्पले टोक्ने गरेको छ । तीमध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।
भेरी अस्पतालमा सर्पदंशको अवस्था
भेरी अस्पतालले विगत लामो समयदेखि पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय र अतुलनिय योगदान दिँदै आएको छ । उपलब्ध विभिन्न सेवाहरु मध्ये अत्यन्तै जरुरी र आवश्यक सर्पदंश उपचार सेवालाई पनि भेरी अस्पतालले प्रभावकारी ढंगबाट अगाडि बढाएको छ ।
तराईका बाँके, बर्दिया, कैलालीदेखि हिमाली भेगका जुम्लासम्मका बिरामीहरु रेफर भएर भेरी अस्पतालमा आउने गरेका छन् । र, समयमै उपचार पाएपछि पुनःजन्म पाएका प्रशस्तै उदाहरण पनि छन् । बैशाखदेखि असोज कार्तिक महिनासम्म सर्पको बिगबिगी हुने मौसम हो । वर्षातको समयमा भेरी अस्पतालमा दैनिक ४०–५० जना सम्म सर्पदंशका बिरामीहरु आउने गरेका छन् ।
ति मध्ये ८–१० जनालाई सर्पको विषको लक्ष्ण भइ एन्टि स्नेक भनेम प्रयोग गरी उपचार हुने गरेको छ । भेरी अस्पतालमा आउने बिरामी मध्ये २०–३० प्रतिशत बिरामी बाहिरी जिल्ला र अरु स्वास्थ्य संस्थाबाट नै एन्टि स्नेक भेनमको उपचार भइ सघन उपचार (आईसीयू) को निम्ति रेफर भएर आउने गरेको देखिएको छ ।
सर्पदंशबाट मृत्यु हुने अवस्था र रोकथामका उपाय
भेरी अस्पतालमा विगत तीन वर्षदेखि सर्पदंशको उपचारमा संलग्न हुंँदाको अनुभवले के देखाउँछ भने थोरै मात्र सावधानी र प्राथमिक उपचारको जानकारी भएमा कसैले पनि सर्पदंशको कारण मृत्यु वरण गर्नु पर्दैन् ।
भेरी अस्पतालको इमरजेन्सी विभाग तथा आइसीयू परिवार २४ सैं घण्टा सेवामा तत्पर रहिआएको छ । । यति हुँदाहुँदै पनि विभिन्न कारणले प्रत्येक वर्ष पाँचदेखि आठ जनाको अस्पतालमा आइसकेपछि मृत्यु हुँदै आएको छ । जसमा अस्पताल आउँदा आउँदै बाटोमै मृत्यु हुनेको संख्या योभन्दा धेरै हुने देखिएको छ ।
के गर्ने त ?
सर्पदंशको मृत्युदर घटाउने प्रारम्भिक उपाय भनेकै सर्पबाट बच्नु हो । सर्पसँगको सम्पर्क कमि गर्नु हो । सर्पले त्यतिबेला मात्रै टोक्छ जति बेला उ आफु असुरक्षित भएको महसुस गर्छ । आफ्नो आत्मरक्षाका लागि मात्रै उसले मानिसलाई टोक्ने हो । नत्र मानिसलाई टोक्नु पर्ने खास कारण छैन । किनभने सर्पको आहारा मानिस हैन ।
समुदायले अपनाउनु पर्ने सावधानी
● राती हिड्दा साथमा टर्च लिएर हिड्ने ।
● झाँडी भएको ठाउँमा सकेसम्म नजाने, जानै परे जुत्ता वा गमबुट लगाएर जाने ।
● सकेसम्म खाटमाथी सुत्ने ।
● सुत्ने बेला ओछ्यान राम्ररी हेर्ने ।
● झुल टाँगेर सुत्ने ।
● झ्याल बन्द गर्दा ध्यान दिने ।
● पराल दाउरा आदी तान्न र झिक्न जाँदा होसियार हुने ।
● घर वरिपरि सफा राख्ने ।
● ठूलो घाँस भएको बाटो सकेसम्म नहिड्ने ।
● रुखका टोड्का तथा जमिनमा भएका प्वाल वा दुलाहरुमा जथाभावी हात नहाल्ने ।
सावधानी अपनाउँदा अपनाउँदै सर्पले टोक्यो, के गर्ने ?
माथि उल्लेखित सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोक्न सक्छ । तर सर्पले टोकिहाल्यो भने पनि आत्तिनु हुँदैन । अधिकांश सर्पमा विष हुदैन । विषालु सर्पले टोकेपनि विष नछाडेको हुन सक्छ । त्यसैले सर्पले टोक्न साथ आत्तिनु हुदैन । कतिपय बिरामीको आत्तिएर ह्दयघात भएर मृत्यु भएको छ ।
– सर्पले टोकेका ठाउँलाई साबुन पानीले सफा गर्ने । त्यो ठाउँलाई काट्न हुँदैन ।
– टोकेको ठाउँ भन्दा माथी ठाउँ–ठाउँमा हलुका किसिमले बाँध्ने । मसिनो डोरीले बाँध्न वा कस्न हुँदैन । फेरि रक्तसंचार नै अवरुद्ध भएर पछि त्यो अंग नै काम नलाग्ने हुन सक्छ ।
– टोकेको ठाउँलाई धेरै हल्लाउन वा चलाउन हुँदैन । टोकेको ठाउँमा चुस्न पनि हुँदैन र टोकेको खुट्टाले हिड्न पनि हुँदैन ।
– टोकेको ठाउँलाई पानीमा डुवाउने, चिसो वा तातोले सेक्ने गर्नु हुँदैन ।
-सर्पले टोकेको बिरामी जति आत्तियो त्यति नै रक्त संचार बढ्ने र विष फैलने हुनाले बिरामीलाई सकेसम्म शान्त रहन ढाढ्स बढाउँदै रहनु पर्छ ।
– धामी झाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगाको उपचारतर्फ लागेर महत्वपूर्ण समय नगुमाउने । विश्वासका आधारमा यी उपचारले बिरामीलाई मानसिक रुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा बिरामीको ज्यान जान सक्छ ।
बालबालिका र अपनाउनु पर्ने विशेष सावधानी
वयस्कहरु भन्दा कम उमेरका सर्पदंशका बिरामीहरुमा लक्षण देखिने र श्वासप्रश्वासमा समस्या आउने प्रक्रिया तीव्रगतिमा हुने देखिएको छ । करेत प्रजातीको सर्पले प्राय राति टोक्ने र टोकेको थाहा नहुने, दाग पनि नदेखिने भएकोले साना बच्चाहरुमा हुने सुरुवातका सामान्य लक्षणहरु (घाँटी दुख्ने, पेट दुख्ने) आमाबुबाले थाहा पाउँदैनन् । र, केहि समयपछि शरिर चलाउन नसक्ने (प्यारालाइसिस) वा श्वासप्रश्वासमा समस्या आइसकेपछि मात्र सर्पले टोकेको थाहा हुन्छ ।
श्वासप्रश्वासमा समस्या आइसकेपछि बच्चाहरुको कमजोर शारिरीक बनावटले गर्दा थोरै समयमा नै श्वासप्रश्वास बन्द हुने सम्भावना हुन्छ । र तुरुन्तै अस्पताल पु¥याउन नसके बचाउन गाह्रो हुन्छ । तसर्थ वर्षायामको बेलामा साना नानीहरुलाइँ घाँस तथा झाँडी भएको स्थानमा र अध्यारोमा खेल्न दिनु हुदैन ।
सर्पदंशका सामान्य लक्षणहरु जस्तै– धाँटी दुख्ने, थुक निल्न नसक्ने, आँखा खोल्न गाह्रो हुने, शरीर दुखाइ वा आलस्य हुने, पेट दुख्ने, आदी लक्ष्ण चिन्ह देखिएमा तुरुन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र पु¥याइहाल्नु पर्छ ।
सर्पदंशका बिरामी रेफर प्रक्रिया
प्राथमिक उपचार केन्द्र र आइसीयू नभएका स्वास्थ्य संस्थाहरुबाट सर्पदंशका बिरामी रेफर गर्दा सावधानी नपु¥याउँदा र बिरामीलाइ उचित जानकारी नहुँदा धेरै बिरामीहरुको बाटोमै मृत्यु हुने गरेको छ । प्रत्येक बर्ष केहि बिरामीहरु त एन्टिस्नेक भेनमद्वारा उपचार पाइसकेपछि पनि आइसीयूको लागि रेफर भएर आउँदा आउँदै बाटोमै मृत्यु हुने गरेको पाइएको छ ।
प्राथमिक उपचार तथा एन्टिस्नेक भेनमको प्रयोग गरिसकेपछि कम्तिमा पनि आधादेखि १ घण्टा निगरानी गरेर बिरामीको श्वासप्रश्वास ठीक छ भने मात्र अक्सिजन उपलब्ध भएको एम्बुलेन्समा राखेर रेफर गर्न जरुरी छ । यदि बिरामीको श्वासप्रश्वास बन्द हुन लागेको छ भने श्वास नलीमा पाइप राखेर स्वास्थ्यकर्मी सहितको एम्बुलेन्समा हातले पम्प गर्दै आइसीयू भएको स्वास्थ्य संस्था रेफर गर्नु पर्दछ । लामो दुरीको रेफरल सेन्टर छ भने अक्सिजनको यथोचित ब्यवस्था सुनिश्चत गरेर मात्र हिड्न जरुरी छ ।
विषालु सर्पले टोकेको लक्षणहरु देखिएमा एन्टि स्नेक भेनम उपलब्ध नभएमा पनि बिरामी लाई सास फेर्न गाह्रो भैसकेको अवस्थामा एन्टि स्नेक भेनम भएको अस्पतालमा रेफर गर्नु भन्दा पहिला श्वासप्रश्वासको प्राथमिक उपचार गरेर मात्र पठाउँन जरुरी छ । नत्र बिरामी अस्पताल जाँदजाँदै बाटो मै ज्यान जाने क्रम रोकिने छैैन । श्वासप्रश्वासको प्राथमिक उपचारमा न्यूनतमरुपमा अक्सिजन लगाएर वा बिरामीको श्वासप्रश्वासको गति अनियमित हुन थालेमा चाही सम्भव भएसम्म सास फेर्ने नलिमा पाइप राखेर नै रिफर गर्दा बिरामी बाँच्ने सम्भावना बढि देखिएको छ ।
यो प्रसंगमा बाँकेका नजिक जिल्लाहरु जस्तैः बर्दिया, कैलालीका स्वास्थ्यकर्मीहरुको प्रयास प्रशंसनीय छ। हाम्रो समाजमा अझैपनि सर्पदंशको उपचारमा धामी झाक्रीको संलग्नता हुँदै आएको छ । त्यसैले असपताल पु¥याउन र उपचार सुरु गर्न ढिलो हुनाले धेरै बिरामीको ज्यान जाने गरेको छ । धामी झाक्रीलाई पनि बिषालु सर्प र जोखिमपूर्ण लक्षणहरुको बारेमा जानकारी गराइ समयमै अस्पताल प्रेषण गर्न अभिमुखिकरण गर्न जरुरी छ ।
संघीय र प्रादेशिक अस्पताल तथा रिफरल सेन्टरमा उपचार
सुबिधा सम्पन्न अस्पतालमा सबै विधाका सुविधा तथा उपचारहरु हुने भएकाले सर्पदंशका बिरामीलाई मात्र विशेष ध्यान दिन नसकिने अवस्था आउन सक्छ । साथै सबै बिभागमा (इमरजेन्सी तथा आईसीयू विपभाग) पर्याप्त जनशक्तीको उपलब्धता पनि नहुने हुनाले र बर्षायाममा सर्पदंश अत्यधिक रुपमा बढ्ने हुनाले सर्पदंशका बिरामीलाई चाहिने बिशेष उपचार दिन नसकिने अवस्था आउनसक्छ ।
रिफरल अस्पतालमा आउने सर्पदंशका बिरामीको मृत्युदर कम गर्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
– इमरजेन्सी विभागमा वर्षायामको बेलामा निश्चित बेड संख्या छुुट्ट्याएर वा छुट्टै स्थानको व्यवस्था गरेर सर्पदंश शिविर नै संचालन गर्न सकिन्छ ।
– इमरजेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रत्येक वर्ष अनिवार्य तालिम (सर्पदंश, प्राथमिक उपचार, श्वासप्रश्वास व्यवस्थापन ब्यवस्थापन, एअरवेय म्यानेजमेन्ट आदि) प्रदान गरि चुस्तदुरुस्त बनाइराख्न जरुरी ।
– सिकिस्त सर्पदंशका बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने आइसीयूका स्वास्थ्यकर्मीहरुलाई पनि सो सम्बन्धी तालिम तथा प्रोत्साहनका कार्यक्रम हरु राख्नुपर्छ ।
जनस्वास्थ्य तथा नीतिगत व्यवस्था
– सर्पदंश बाट बच्न र समयमै उपचारको व्यवस्था उपलब्ध हुनका निमित्त विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
– बर्षायामको बेलामा तराईका जिल्लाहरुमा सामुदायिक सहभागितामा सर्पदंशका बारेमा सामाजिक जागरणका कार्यक्रमहरु संचालन गर्न सकिन्छ ।
-स्थानिय तहहरुले आ–आफ्ने वडामा सर्पदंशका बिरामीलाई अस्पताल पु¥याउने स्वमसेवी, मोटरसाइकल चालक परिचालन गर्न सके एम्बुलेन्स उपलब्ध नहुने ठाउँहरु र निम्न आयस्रोत भएका बिरामीहरुले अकालमा ज्यान गुमाउन पर्ने अवस्था रोकिन्छ ।
– सर्पदंशको अत्यधिक बिगबिगी भएका स्थानहरु (बनजंगल नजिकैका बस्तीहरु) मा स्थानिय निकायले सर्पदंश उपचार केन्द्र नै स्थापना गर्न सकिन्छ ।र, सर्पदंशका बिरामीलाई रेफर गर्नु परेमा बिशेष आर्थिक सहायताको व्यवस्था गरे धेरै बिरामीहरुले खर्चको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउँदैन ।
– एन्टिस्नेक भेनमको उत्पादन नेपालमा नहुँने भएकोले र किन्दा महंगो पर्ने भएकोले गैरसरकारी स्वास्थ्य संस्थाहरुमा यसको प्रयोगको अनुमति नभएको अवस्था छ । जनताको जीवन बचाउने कार्यमा यो समस्या रहनु हुन्न र सबै स्वास्थ्य संस्थाहरुमा एन्टिस्नेक भेनम उपलब्ध गराइनु पर्छ ।
– सरकारी तथा नयाँ स्वास्थ्य संथाहरुमा सर्पदंश उपचार केन्द्र स्थापना प्रकृया अत्यन्तै झनझटिलो र समय लाग्ने (६–१२ महिना) भएकोले यसलाइ फास्ट ट्रयाकबाट सहजिकरण गर्न जरुरी छ ।
– सर्पदंशको उपचारमा वर्षायामको बेलामा बिशेष कार्यक्रम \ प्याकेज नै व्यवस्था गरि तराईका जिल्लाहरुमा लागू गर्ने हो भने धेरै जनाले जीवनदान पाउने छन् ।
‘In the memory of Innocent souls lost to snakebite due to superstition & incompetence of the state’
अक्सिजन स्मारिकाबाट