नेपालगन्ज: दाङको राप्ती गाउँपालिका–९ की १९ वर्षीया देवकला बुढालाई साउन ६ गते एकाबिहानै प्रसूति व्यथाले च्याप्यो ।
परिवारले उहाँलाई अस्पतालमासम्म पुर्याउने तयारी गरे । तर बर्खायाममा गाडी नगुड्ने भएपछि उहाँको परिवारले करिब २० किलोमिटर टाढा अस्पताल लैजान भन्दै डोलामा राखे ।
तर अस्पताल पुर्याउन नपाउँदै बीच बाटोमै उहाँको बच्चा जन्मियो । उहाँको रक्तस्राव अत्यधिक भयो । झरीकैबीच करिब एक घण्टा लगाएर परिवारले उहाँलाई भालुवाङ अस्पतालमा पुर्याइयो ।
दाङकै बबई गाउँपालिका–७ स्थित मलइकी २६ वर्षीया निर्मला घर्ती बच्चा जन्मने मितिको केहीदिन अघि नै तुलसीपुरस्थित आफन्तको घरमा गएर बस्नुभयो ।
असार २७ गते उहाँले तुलसीपुरको अस्पतालमा बच्चा जन्माउनुभयो । बच्चा जन्माएको दोस्रो दिन घर फर्किनुपर्ने भयो । तर बर्खायाममा गाउँसम्म पुग्ने गाडी नचल्दा दुई घण्टा स्टेचरमा राखेर उहाँलाई घर पुर्याइयो ।
चार वर्षअघि पनि पहिलो पटक सुत्केरी हुँदा उहाँलाई स्टेचरमा राखेरै अस्पतालदेखि घरसम्म पुर्याइएको थियो ।करिब अढाइ सय घरधुरी रहेको बबईको मलईमा बर्खाभरी गाडी चल्दैन ।
त्यहीकारण गर्भवतीहरू बच्चा जन्मिने सम्भावित मितिभन्दा केही दिन अगाडि नै तुलसीपुरस्थित आफन्तको घर गएर बस्ने गरेको उहाँले सुनाउनुभयो।
बबइ गाउँपालिकाको मलई पुग्ने बाटो बर्खायाममा अवरुद्ध हुने भएकाले त्यहाँसम्म कुनै पनि मोटरगाडी चल्दैनन् । बर्खाको समयभर कोही कतै विरामी भए बोकेरै अस्पतालसम्म पुर्याउनु पर्ने बबई गाउँपालिका ७ का वडाध्यक्ष तिलकराम भण्डारीको भनाइ छ ।
वडाध्यक्ष भण्डारीले बर्खामा गाडी नचल्दा मलईबाट ढोलपुरसम्मको दुई घण्टाको बाटोमा विरामीलाई बोकेर अस्पताल पुर्याउनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सुगम जिल्ला मानिन्छ । तर यही राजधानीभित्रका नागरिकको पीडा भने कहालीलाग्दो छ ।
दाङका केही पहाडी भू–भाग र ग्रामिण भेगमा अहिलेसम्म पनि सहजै सडक सञ्जाल नपुग्दा विरामीलाई बोकेरै अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता यथावत छ ।