साउन महिनामात्रै कोरोनाबाट १५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७९, आईतवार

नेपालगन्ज: कोरोना भाइरसको संक्रमणबाट आइतबार थप एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५औं व्यक्तिको मृत्यु हो ।

कोरोना महामारीको चौथो लहरसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् ।

खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नु परेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्’, उहाँले भन्नुभयो, ‘साउनयता मृत्यु भएका अधिकांश मानिसले खोप लगाएका छैनन् ।’

८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् ।

अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ । ‘कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । खोप नलगाएका मानिसलाई कोरोना संक्रमणले बढी जटिलता ल्याएको र मृत्युदर उच्च भएको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भन्नुभयो ।

  • १५ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech