नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वास बढेको पाएको बताउनुभएको छ ।
अस्पतालको १३२ औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै स्वास्थ्यमन्त्री खापुङले भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्पपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।
‘अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्न गरेको मिहिनत र प्रयास प्रशसनीय रहेको छ शुभकामना सन्देशमा भनिएको छ–‘भेरी अस्पताललाई बिशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने योजनालाई कार्यान्वयन गर्न मन्त्रालय भेरी अस्पतालसँगै रहेको जानकारी गराउँन चाहान्छु ।’
कोरोना महामारीमा भेरी अस्पतालले दिएको उत्कृष्ट सेवालाई धेरैले स्मरण गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले पनि सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि खोप कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि बढाइरहेको छ शुभकामना सन्देशमा भनिएको छ–‘ बालबालिकाहरुलाई पनि खोपको दायरामा ल्याएर कोभिडबाट हुने क्षती न्यूनिकरणमा सरकारले उच्च प्राथमिकता दिएको छ ।’
नेपाल सरकारले जनताको स्वास्थ्य र स्वास्थ्य सेवा प्रतिको जिम्मेवारीलाई थप प्रष्ट र परिभाषित गर्दै लैजाने नीति लिएको पनि उहाँको भनाइ छ । भेरी अस्पतालले आफ्नो ऐतिहासिक स्वास्थ्य सेवा प्रवाहको बिरासतलाई अझ प्रभावकारी बनाउने विश्वास लिँदै १३२ औं बार्षिकोत्सवको अवसरमा भेरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरु प्रति धन्यवाद दिन चाहान्छु सन्देशमा भनिएको छ–‘ अस्पतालको बार्षिकोत्सवको हार्दिक शुभकामना सहित अक्सिजन स्मारिका निरन्तरताको कामना गर्दछु ।’