नेपालगन्जः बलात्कारपछि भिरबाट खसालेर घाइते बनाइएकी ३ वर्षीया बालिकाको भेरी अस्पताल नेपालगन्जमा सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
बबई गाउँपालिका ५ की ३ वर्षीया ती बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कारपश्चात् भीरबाट खसालेर फरार भएका थिए ।
भेरी अस्पतालका न्यूरोसर्जन डा. जोशन न्यौपानेको टीमले करिव साढे तीन घण्टा लगाएर बालिकाको टाउकोको जटिल खालको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
‘बालिकाको टाउकोमा गहिरो चोट थियो न्यूरोसर्जन डा.न्यौपानेले स्वास्थ्यपेजलाई भन्नुभयो–‘हडडीहरु गिदीमा धँसिएको थियो । ठाउँ–ठाउँमा रगत जमेको थियो । हाम्रो अथक प्रयासकाबीच बालिकाको सफलतापूर्वक शल्यक्रिया भएको छ ।’
आइसीयूमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख बन्दै गएको पनि डा.न्यौपानले बताउनुभयो । बालिकालाई बलात्कार गरेपछि ती किशोरले कानमा लगाएको सुनको मुन्द्रा लुटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताउनुभयो ।
बलात्कारमा संलग्न किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपी किशोरले अपराध स्वीकार गरेका छन् ।